जीरो ब्यालेन्समा पनि खाता खोल्ने सुविधा आएदेखि एकताका बैंकहरूमा नयाँ खाता खोल्ने ग्राहकको घुइँचो तीव्र रूपमा बढेको थियो । तर, जति ग्राहक बढ्दै गए, उति नै गतिमा ग्राहकप्रति हुने सेवा र सम्मान पनि घट्दै गएको देखिन्छ । अर्थशास्त्रको सीमान्त उपयोगिता ह्रास नियम वा सीमान्त उत्पादन ह्रास नियमले भने जस्तै ।
कुनै जमानामा पढेलेखेका, पैसा भएका प्रतिष्ठित व्यक्तिहरू मात्र बैंकका ग्राहक हुन्थे । बैंकवालाहरू पनि तिनको निकै आदर सम्मान गर्थे । सम्मान भन्नाले कुर्सीमा बस्न दिनु, पानी–चिया सोध्नु जस्ता कुरा सामान्य नै थिए । आहा ! क्या दिन थिए ती । बैंक जाने मान्छे आफूलाई सेमी–भीआईपी सम्झिन्थे । ३२ इन्च छाती भएका ग्राहक ५२ इन्चको आत्मविश्वासका साथ बैंकबाट बाहिर निस्कन्थे ।
त्यसबेला मानिसहरूले बैंकलाई ‘हाम्रो बैंक’ भन्थे । कोही–कोही त ‘हाम्रो’ शब्दमा यति जोड दिन्थे कि बैंक नभएर आफ्नै बाउको सन्दुक हो कि जस्तो गरेर । तर तिनै बैंक अहिले यति चाम्रो भएका छन् कि न शेयरधनीलाई केही दिन्छन् न ग्राहकलाई कार्ड तयार भयो भनेर फोन गर्छन् । पैसा चाहिँ झ्याझ्याप काट्छन् । सेवा बन्द गर्छु भन्यो भने अनेक कागजात माग्छन् । अनि ग्राहक आफै दिक्क भएर भाग्छन् ।
पहिला ग्राहक र बैंकबीच यस्तो सम्बन्ध बन्थ्यो कि बिहे–जन्तीमा बेहुलासँगै बैंकका कर्मचारीलाई पनि मानमनितोसहितको निम्तो हुन्थ्यो । बैंकका कर्मचारी आफन्त जस्ता र ऋण पाउँदा ठूलै उपकार गरेजस्तो लाग्ने । भलै सरकारी बैंकमा घिउ उपहार लानुपर्थ्यो होला । तर मेवा लिए पनि सेवा चाहिँ राम्रै दिन्थे । अहिले त धेरै बैंकले ढेवाबाहेक केही जान्दैनन्, ग्राहकलाई बेवकुफबाहेक केही ठान्दैनन् ।
आजको युग मशिनको युग हो । शौचालय जत्रो सानो ठाउँमा एटिएम मशिन उभिएका हुन्छन्, तिनको कानमा कार्ड घुसार्नेबित्तिकै नगद प्राप्त हुन्छ । कहिलेकाहीँ प्राप्त नहुन पनि सक्छ र अर्को एटीएम घर खोज्दै हिँड्न पनि पर्छ र उस्तै परे दुई किमी टाढाको एटीएम घर पुगेर पनि पैसा निक्लँदैन । अनि आफ्नो खाता भएको शाखामा फोन गरेर गुनासो टिपाउन खोज्दा शून्ना थिच्नुस् वा एक थिच्नुस् गर्दै दशैओटा अंकको ज्ञान पाइन्छ । बल्लतल्ल कुरा गर्ने मानिसको आवाज आउँछ अनि सुझाव पनि कि यो कुरा आईटीलाई भन्नुपर्छ । आईटी कता भेटिन्छ थाहा छैन । टोल फ्री नम्बर दिइन्छ, तर त्यहाँ फोन गर्दा कसैले उठाउँदैन ।
यो भयो अहिलेको मशिन युगको अझ भनौं एआई युगको कुरा ।
तर, पुरानो सिस्टमअनुसार जानुभयो भने पनि झन्नै त्यही । पुरानो सिस्टमअनुसार अनुसार नगद निकाल्न वा पासबुकमा इन्ट्री गर्न जाँदा नयाँ पुस्ताका बैंक कर्मचारीले यसरी हेर्छन् कि लाग्छ बैंक होइन, प्रहरी चौकी छिरेको हो ।
धन्न, शून्य ब्यालेन्स क्लासका ग्राहकहरूमा बेइज्जती सहन सक्ने पुस्तैनी धैर्य हुन्छ । नभए, एक पटकको कर्मचारीको रुखो स्वरले ग्राहकहरू अग्लो ठाडो रूख ढलेझैं फटाफट ढल्थे ।
आज मलाई पनि बैंक पुग्नुपर्यो । कारण के भने खातालाई प्यान र ई–बैंकिङसँग लिंक गराउनु छ । घरबाट निस्कँदा मनमा एक किसिमको खुशी थियो– धेरै दिन भयो ‘आफ्ना’ पुराना बैंककर्मीहरू भेटिन्छन्, नभए पनि ‘आफ्नो’ बैंक त हेर्न पाइन्छ ।
तर यहाँ आएर काउन्टरमा दश मिनेट भैसक्यो उभिएको छु । पालेदाइले दिएको टोकन स्लीप लिएर बसेको छु । पुरानो जमानामा पित्तलको मजाको सिक्का जस्तो हुन्थ्यो टोकन, अहिले कागजको स्लीपमा परिवर्तन भएछ । आफ्नु नम्बर आउला भनेर पर्खेर बसिरहेको छु । अगाडि काउन्टरमा कुर्सीमा बसेकी बहिनी अहिले मोबाइलमा व्यस्त देखिन्छिन्, सायद जीडीपी वा शेयर प्राइस जाँच गर्दै छिन् । अचानक उनले टाउको उठाइन् र मोबाइललाई कागजले छोप्दै अलि रुखो स्वरमा सोधिन्, ‘अँ भन्नुस् ।’
मैले मनमनै सोचेँ, विना कुनै कारण कोही किन रिसाउँछ र ? त्यो पनि आफ्नै सम्मानित ग्राहकसँग । पक्कै उनलाई लाग्यो कि मैले उनको म्यासेज पढेँ । त्यसैले, स्पष्ट गर्नु जरुरी ठानेर, मैले चश्मा देखाउँदै भनेँ, ‘मिस, मैले म्यासेज पढेको छैन । त्यति टाढाको त म यसै पनि पढ्नै सक्दिनँ ।’
‘के काम छ, छिटोे भन्नुस् त’ उनले आँखा यथासम्भव ठूलो पारेर सोधिन् । पहिलो नजरमा त लगभग डर लाग्दो देखिइन्, तर दोस्रो नजरमा राम्री । मैले पहिलो नजरलाई ‘शटअप’ भनेँ र दोस्रोलाई ‘क्यारीअन’ गरेँ । अनि भनेँ, ‘हजुर, बैंकबाट म्यासेज आएको थियो कि खाता अपडेट गर्नुहोस् भनेर, त्यसैले ।’
‘आईडी ल्याउनु भाछ ?’
‘हजुर छ, प्यान कार्ड छ ।’
‘यसमा त फोटो छैन । खाता तपाईंकै हो भनेर कसरी थाहा पाउने ?’
‘हस्ताक्षर हेर्नुस् न, तपाईंले हस्ताक्षर हेरेरै त चेक पनि पास गर्नुहुन्छ नि !’
‘यो त भएन, तपाईंको घरको कुरा हैन नि । यो त बैंक हो । जानुस्, फर्ममा फोटो टाँसेर ल्याउनुस् ।’
‘हस्, अर्को पटक फोटो टाँसेर ल्याउँला । तर, आज त कम्तीमा मेरो यो प्यान कार्डका आधारमा गर्दिनुस् न ।’
‘त्यो केवाईसी फारम हेर्नुस् र उता गएर भर्नुस्, मेरो अरू पनि काम छ ।’
तर मैले त ‘उता गएर मर्नुस्’ भन्या पो सुनेँ । भ र म । यी दुई अक्षर पढ्दा मात्र होइन, सुन्दा पनि झुक्किने रहेछ ।
त्यसै मुखबाट निस्किहाल्यो, ‘हस्’ अनि फारम लिएर छेउतिर लागेँ ।
अनुभवका आधारमा भन्न सक्छु– म्याडमका श्रीमान् कवि नै होलान् । किनभने, श्रीमती क्रूर, रिसाहा, अनि आगो ओकल्ने स्वभावकी भए कोही पनि साहित्यमा करियर बनाउन बाध्य हुन्छ ।
फारम भरिसकेपछि अर्को महोदयकहाँ गएँ । सोचेँ, उनले लिइदिए राम्रै हुन्थ्यो, म्याडमसँगको मधुर संवादको सजायबाट त जोगिन्थेँ नि । तर, उनले अस्वीकार गरे । बाध्य भएर फेरि म्याडमकैमा पुग्नुपर्यो ।
‘यो फारमको म अब के गरूँ ?’
अब नागरिकता वा नेशनल आईडीको फोटोकपी टाँसेर ल्याउनुस् !’
‘दुवैको फोटोकपी सँगै छ,’ मैले उनलाई दोस्रो नजरले हेर्दै भनेँ ।
‘ओरिजिनल खोई ! ओरिजिनल देखाऊनुस् ।’
‘ओरिजिनल ल्याएको छैन । हिजोआज सबै ठाउँमा फोटोकपी नै चल्छ । मोबाइलमा इमेज देखाइदिऊँ ?’
‘ओरिजिनलविना हुँदैन’ भन्दै उनले फारम झन्डै फालिनन् ।
‘त्यसो भए नागरिक एपमा छ । हेर्नुस् त । यो त सरकारले नै चल्छ भनेको छ ।’
‘ए सरकारले तपाईंलाई भनेर हुन्छ, हामीलाई भनेको छैन । किचकिच नगर्नुस्, बाटो लाग्नुस् ।’
अनि मैले लुत्रे कान लगाएर भनेँ, ‘ठीक छ, भोलि ओरिजिनल लिएर आउँछु...।’
‘भोलि होइन, पर्सि आउनू ।’
‘ठीक छ, पर्सि आउँछु... के भोलि बैंक बन्द छ ?’
‘होइन... पर्सि म बिदामा छु ।’
योभन्दा राम्रो बैंक कुनै भेट्नु भएको छ ? भेट्नुभयो भने भन्नुस् है, त्यो हाम्रो राम्रो बैंकमा जानुपर्छ ।