विराटनगर । विराटनगरको हिमालय रोडमा कुनै पनि मेला, महोत्सव नगर्न स्थानीय व्यापारीले आग्रह गरेका छन् । उनीहरूले मेला, महोत्सवले स्थानीय व्यापार व्यवसाय प्रभावित हुने भन्दै विरोध जनाएका छन् ।
व्यापारी श्रवण शर्माले मेला, महोत्सवको अनुमति दिइए सटर बन्द गरेर महानगरपालिकामा चाबी बुझाउने चेतावनी दिए । शर्माले भने, ‘यस वर्ष पनि ८ दिनको मेला लगाइने सुनेको छु, जसको हामी कडा विरोध गर्छौं । व्यापार नहुँदा तनावमा छौं, मेला गर्दा सटर बन्द गरेर घरमै बस्नुपर्छ ।’
त्यस्तै, व्यापारी शर्मिला मैनालीले मेला र महोत्सवका लागि हिमालय रोडको सट्टा अन्य खाली ठाउँको उपयोग गर्न सुझाव दिइन् । ‘हिमालय रोडको संरचना बनेपछि व्यापारमा ६ प्रतिशतको ह्रास आएको छ, अहिले पनि सवारीसाधन एकातर्फ मात्र चल्न पाउँछन्,’ उनले भनिन् ।
अर्का व्यापारी सुदर्शन बरालले हिमालय रोडमा मेला हुँदा व्यापार ठप्प हुने भन्दै विरोध गरे । ‘मेला लाग्दा खानाको गन्धले पसलमा बस्नै नसकिने अवस्था आउँछ । सडक नै ढाकेर मेला गरेपछि हाम्रो व्यापार पूर्ण रूपमा बन्द हुन्छ ।’
मेला र महोत्सवको विरोध गर्ने व्यापारीहरूको मुख्य समस्या भनेको सडक पूर्ण रूपमा अवरुद्ध हुनु र त्यसले गर्दा व्यापारमा नकारात्मक असर पर्नु हो । स्थानीय व्यापारीले यसअघि पनि मेला नगर्न सहमति भएको स्मरण गराउँदै यसपटक फेरि मेला लगाउने प्रयासले उनीहरूलाई झन् पीडामा पार्ने बताएका छन् ।
व्यापारी पप्पु देवले सार्वजनिक सडकमा मेला र महोत्सव गर्न नहुनेमा जोड दिँदै भने, ‘व्यापार नै हाम्रो जीविकोपार्जन हो । मेला हुँदा विक्रीवितरणमा समस्या हुन्छ, त्यसमाथि फोहोर र हल्लाका कारण स्थानीयलाई पनि असहज हुन्छ ।’
हिमालय रोडमा मञ्जिना मुभिज क्रिएसनले आगामी असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव आयोजना गर्ने योजना बनाएको छ । तर, व्यापारीहरूले यस महोत्सवलाई अन्य खाली स्थानमा सार्न आग्रह गर्दै हिमालय रोडमा मेला आयोजना भएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।