काठमाडौं। हिमालयन बैंकको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सोमवार सम्पन्न उक्त सभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले शेयरधनीलाई बैंकको दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए । तथापि आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले सञ्चयकोषको उक्त भवनको प्रबलीकरणपछि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्न आवश्यक स्थान पुन: भाडामा लिने प्रक्रियामा रहेको पनि उनले बताए । साथै बैंकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयका लागि भवन निर्माण प्रारम्भ गरिसकेको बताइएको छ ।
गत आर्थिक वर्षको तुलनामा यस बैंकको सम्पत्ति ६ दशमलव ४२ प्रतिशतले बढेर तीन खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ पुगेको जानकारी दिइएको छ । त्यस्तै, गत आर्थिक वर्षमा खुद मुनाफा रू. एक अर्ब ३३ करोड ८३ लाख तीन हजार रहेको छ । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६ दशमलव ८९ प्रतिशतले बढेर रू. दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसैगरी, कर्जा सापट १ दशमलव ७९ प्रतिशतले वृद्धि भई रू. दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको छ ।