काठमाडौं । बैंक, वित्तीय संस्थाको ऋणमा पहुँच नहुने व्यवसायीका लागि व्यक्तिगत रूपमा ऋण लिन सक्ने ‘पियर टु पियर (पीटूपी)’ कर्जा र ‘क्राउडफन्डिङ’ अवधारणा लागू गर्ने योजना गतवर्ष नै सार्वजनिक गरे पनि यसमा ठोस प्रगति भने हुन सकेको छैन ।
पीटूपी लेन्डिङ (कर्जा प्रवाह) र क्राउडफन्डिङ अघि बढाउन नेपाल राष्ट्र बैंकले १ वर्षअघि नै अध्ययन गरी अवधारणापत्र सार्वजनिक गरेको थियो । तर, हालसम्म अवधारणापत्रअनुसार पीटूपी लेन्डिङ र क्राउडफन्डिङ कार्यान्वयनका लागि कुनै काम अगाडि नबढेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन् ।
‘वैकल्पिक वित्तीय स्रोत जुटाउन पीटूपी लेन्डिङ र क्राउडफन्डिङ आवश्यक छ भनेर १ वर्षअघि राष्ट्र बैंकले सिफारिश गरेको हो,’ केन्द्रीय बैंकका प्रवक्ता रामु पौडेलले भने, ‘यसलाई कार्यान्वयन गर्ने काम भने अघि बढेको छैन ।’ अर्थतन्त्रमा देखिएका समस्याको अध्ययन गरी सरकारलाई सुझाव दिन गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत कानूनमा सुधार गरेरै भए पनि पीटूपी लेन्डिङ शुरू गर्न सुझाव दिएको छ ।
आयोगले वित्तीय प्रणालीबाट स्रोत प्राप्त गर्न नसक्ने व्यक्तिका लागि वैकल्पिक स्रोतका रूपमा यस्तो वित्तीय उपकरण उपयुक्त हुने बताएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा स्टार्ट–अप व्यवसायमा कर्जा पहुँच बढाउन पीटूपी लेन्डिङ र क्राउडफन्डिङसम्बन्धी अध्ययन गर्ने घोषणा गरेको थियो । घोषणा भएको २ वर्षपछि २०८० पुसमा केन्द्रीय बैंकले पीटूपी लेन्डिङ र क्राउडफन्डिङबारे अवधारणापत्र सार्वजनिक गर्दै यो कर्जाको पहुँच बढाउन र साना तथा मझौला उद्यमीलाई लगानीको स्रोत जुटाउन उपयुक्त हुने बताएको छ ।
व्यक्ति वा संस्थालाई व्यवसाय गर्न आवश्यक पर्ने स्रोत व्यक्तिबाट जुटाउनका लागि पीटूपी लेन्डिङ र क्राउडफन्डिङ उपयुक्त मोडल रहेको राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्र बैंकका अनुसन्धान विभागका तत्कालीन कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘पीटूपी लेन्डिङ प्रविधिको माध्यमबाट व्यक्ति–व्यक्तिबीच हुने ऋणको कारोबार हो,’ उनले भने, ‘विश्वमा धेरै अघि प्रचलनमा आइसकेको यो अभ्यासमा हामी भर्खरै छलफल मात्र गरिरहेका छौं ।’
नेपालमा हाल स्टार्ट–अप तथा साना तथा मझौला उद्योगमा आवश्यक लगानी जुटाउन बैंकिङ भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डप्रति आकर्षण बढिरहेको छ । यही बेला राष्ट्र बैंकले सार्वजनिक गरेको पीटूपी कर्जा प्रवाह र क्राउडफन्डिङको अवधारणाले नयाँ क्षेत्र खुला गर्ने वैकल्पिक लगानीको क्षेत्रमा काम गरिरहेका बिजनेश अक्सिजन प्रालिका अध्यक्ष सिद्धान्तराज पाण्डे बताउँछन् ।
‘हामीकहाँ अहिलेसम्म ऋण दिने भनेको बैंक, वित्तीय संस्थाले मात्र हो भन्ने बुझाइ छ,’ उनले भने, ‘पीटूपी लेन्डिङ साना तथा मझौला उद्योगका लागि स्रोत जुटाउन एकदमै महत्त्वपूर्ण हुन्छ ।’ नेपालमा मीटरब्याजको समस्या एकदमै चर्चामा रहेकाले पीटूपी लेन्डिङको नियमन गर्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
नेपालमा पीटूपी लेन्डिङ र क्राउडफन्डिङको विषयमा बल्ल चर्चा शुरू भए पनि विश्वमा भने डेढ दशकअघि नै यो प्रचलनमा आइसकेको छ । विश्वमा आर्थिक मन्दीको समयमा बैंक, वित्तीय संस्थालाई व्यवसाय गर्न आवश्यक ऋण दिन नसकेपछि व्यक्ति–व्यक्ति मिलेर लगानी जुटाउन पीटूपी कर्जा प्रवाह र क्राउडफन्डिङको अवधारणा प्रचलनमा आएको थियो ।
यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिनेलिने काम गर्छन् । यस्तो कारोबारको जोखिम कम गर्न अनलाइन प्लेटफर्म दर्ता, ऋणको सीमा, ब्याजदरको विषयमा नियमन आवश्यक पर्ने अवधारणापत्रले औंल्याएको छ । यसैगरी यसको प्रयोग र जोखिमका बारेमा पनि जनमानसमा जानकारी हुनुपर्ने बताइएको छ ।
अवधारणापत्रमा नेपालमा पीटूपी लेन्डिङ र क्राउडफन्डिङ नयाँ अवधारणा भएकाले यसबारे पर्याप्त छलफल र बलियो नियमन आवश्यक रहेको औंल्याइएको छ । पहिलो चरणमा राष्ट्र बैंकले केही कम्पनीलाई यस्तो कारोबारका लागि लाइसेन्स दिएर परीक्षण गर्नुपर्ने र त्यसको सफलताका आधारमा मात्र यसलाई अघि बढाउन सुझाव दिइएको छ ।
के हो पियर टु पियर कर्जा प्रवाह ?
पियर टु पियर लेन्डिङ भनेको बैंक तथा वित्तीय संस्थाबाहिर प्रविधिको माध्यमबाट व्यक्ति–व्यक्तिबीच वा कम्पनीहरूबीच हुने ऋणको कारोबार हो । कसैले ऋण दिन चाहने व्यक्ति तथा कम्पनीबाट सानोसानो ऋण उठाएर कुनै साना तथा मझौला उद्योगमा लगानी गर्ने अवधारणाअन्तर्गत यो प्रणाली चल्छ । यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिनेलिने काम गर्छन् । यो प्रचलन विश्वमा धेरै अघि नै प्रचलनमा आइसकेको हो ।
के हो क्राउडफन्डिङ ?
कुनै परियोजनाका लागि ठूलो संख्याका मानिसबाट अनलाइन माध्यमबाट रकम उठाई लगानी गर्ने प्रणाली हो । रकम इक्विटी, ऋण वा दानका रूपमा धेरै मानिसबाट उठाइन्छ । धेरै नवप्रवर्तनमुखी स्टार्ट–अपहरूले क्राउडफन्डिङको माध्यमबाट पूँजी उठाउने गरेका छन् ।