काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (माघ–चैत) मा आधा दर्जन विकास बैंक तथा फाइनान्स कम्पनीका साथै सञ्चालक तथा अध्यक्षलाई कारबाही गरेको छ । स्थलगत तथा गैरस्थलगत अनुगमनका आधारमा शीघ्र सुधारात्मक कारबाही, नगद जरीवाना र सचेत गराएको हो ।
राष्ट्र बैंकले जानकी र पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । दुवैलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । नियमावलीमा राष्ट्र बैंकले तोकेभन्दा ५० प्रतिशत बढी र ७५ प्रतिशत कम भएमा नयाँ निक्षेप खाता खोल्न, कर्जा बढाउन, कर्मचारी भर्ना र सेवासुविधा बढाउन रोक लगाउने प्रावधान छ । यो कारबाही भएको ६ महीनाभित्र पूँजीकोष अनुपात कायम नभएमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गर्ने प्रावधान छ ।
राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तमा पोखरा फाइनान्सको निष्क्रिय कर्जा ३३ दशमलव ४४ प्रतिशत छ भने न्यूनतम पूँजीकोष अनुपात नियामकीय मापदण्डबमोजिम छैन । जानकी फाइनान्सलाई २०८१ मङ्सिर मसान्तमा न्यूनतम पूँजीकोष अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकाले कारबाही गरिएको हो । जानकीको पूँजीकोष शून्य दशमलव १६ र पोखराको ३ दशमलव शून्य ८ प्रतिशत ऋणात्मक छ । राष्ट्र बैंकले पोखरा फाइनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई ५ लाख रुपैयाँ जरीवाना गरेको छ । यसैगरी पोखरा फाइनान्सले २०८१ माघ १३ देखि २६ गतेसम्ममा अनिवार्य मौज्दात कायम नगरेको भन्दै ४६ हजार ७१८ रुपैयाँ जरीवाना गरेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको सञ्चालक समितिलाई नियामकीय निर्देशन उल्लंघन नगर्न भनेको छ । तोकिएको पूँजी नपुर्याउने सालपा विकास बैंक सञ्चालक समितिलाई नसिहत दिइएको र ३ महीनाभित्र अनिवार्य रूपमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्थाको पालना नगरेको भन्दै गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी र सञ्चालकहरू युवराज राई, सञ्चालक नरेन्द्रकुमार अग्रवाल, नीलम बोहरा र कल्पना खापुङलाई सचेत गराइएको राष्ट्र बैंकले बताएको छ । हाल पनि गोर्खाज फाइनान्समा सीईओ रिक्त छ । यसअघि गत पुसमा प्रकाशचन्द्र अधिकारी र चैतमा ज्ञानेन्द्र इवाहाङको नियुक्ति खारेज भएको थियो । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका अध्यक्षलाई पनि सचेत गराएको छ ।