काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकमध्ये अधिकांशले यो वर्ष खुद नाफा बढाएका छन् । उनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा यस वर्ष ज्योति विकास बैंकले सबैभन्दा बढी खुद नाफा बढाएको देखिन्छ । गतवर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको ज्योति विकास बैंकले यस वर्ष बढाएर ३० करोड ६६ लाख रुपैयाँ नघाएको छ । यस आधारमा गतवर्षभन्दा यस वर्ष ज्योति विकास बैंकको खुद नाफा १०१ दशमलव १४ प्रतिशतले बढेको हो ।
कर्जा जोखिम बापत व्यवस्था गर्नुपर्ने इम्पेरमेन्ट चार्जबापतको रकम यस वर्ष कम हुँदा कम्पनीको खुद नाफामा शतप्रतिशतभन्दा बढी वृद्धि देखिएको हो । ज्योति विकास बैंकको इम्पेरमेन्ट चार्ज यस वर्ष ५२ करोड १६ लाख रुपैयाँभन्दा बढी रहेको छ । यो रकम गतवर्ष यस अवधिसम्म ८३ करोड २ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष नाफा बढाउने पाँच कम्पनीमा ज्योति विकास बैंकसँगै सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंक रहेका छन् । नाफा बढाएका बैंकहरूमध्येकै कामना सेवा विकास बैंकले खर्चमा कमी ल्याएसँगै नाफा बढेको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले यस वर्ष कम्पनीले कर्मचारीसँगै अन्य सञ्चालन खर्च कम गरेको प्रतिक्रिया दिए । वित्तीय विवरणमा सार्वजनिक कर्मचारी खर्चको तथ्यांकमा कर्मचारीको बोनसबापतको रकमसमेत जोडिएर यस वर्ष बढेको देखिए पनि कर्मचारी खर्चसमेत घटेको उल्लेख गरे ।