काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २९ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीले करीब ३२ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २२ करोड ४२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानी करीब १८ प्रतिशत बढेको छ भने कुल खर्च पनि करीब १८ प्रतिशत नै भएको छ । गत वर्ष ८ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १० अर्ब ४८ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।
त्यस्तै गत वर्ष ८ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष ९ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ । महाविपत्ति कोषमा ३९ करोड १९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग ४२ करोड १९ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
कम्पनीको खुद बीमाशुल्क आर्जन यस वर्ष करीब १८ प्रतिशत बढेको छ । गत वर्ष ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको खुद बीमाशुल्क आर्जन रकम यस वर्ष ७ अर्ब ५१ करोड २२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा छ ।