काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवार चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३६९ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष १ करोड १३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी बढेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।
गत वर्ष ४ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष २४ करोड ४७ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो । गत वर्ष १७ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष बढेर ६८ लाख रुपैयाँभन्दा बढी कायम गरिएको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ छ । जगेडा कोष भने १३ करोड २८ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा सापटी ३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रहेको छ भने कर्जा प्रवाह ४ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
कम्पनीले यस अवधिसम्म १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । गत वर्ष ४ दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा भने यस वर्ष बढेर ५ दशमलव ३४ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२९ रुपैयाँ ४८ पैसा छ ।