काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गते निष्कासन गरेको ऋणपत्र वैशाख १२ गतेसम्म मात्र निष्कासनमा रहने भएको छ । वैशाख १० गतेसम्म मागबमोजिम आवेदन नपरेपछि कम्पनीले वैशाख २१ गतेसम्मको निष्कासन मिति तय गरेको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले वैशाख १२ गतेसम्म मात्र निष्कासन गर्न लागिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले ७ वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहने गरी ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ ऋणपत्र निष्कासन गरेको हो । प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र कम्पनीले विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसस्थामा विक्री हुनेछ भने ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र भने सर्वसाधारणमा विक्री हुने जानकारी कम्पनीले दिएको छ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तामा ९ लाख ५० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।
कम्पनीले ऋणपत्रमा आर्जित तोकिएबमोजिमको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने बताएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर घटेसँगै ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको देखिन्छ ।