काठमाडौं। सिन्धु विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको सबै सूचकमा उल्लेख्य प्रगति देखिएको बताइएको छ । बैंकले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रू. ७ करोड ८४ लाख खुद नाफा कमाएको बताइएको छ, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नोक्सान रू. ५ करोड ४० लाख रहेको थियो । दोस्रो त्रैमासिक अवधिमा ८ दशमलव २२ प्रतिशत रहेको पूँजीकोष अनुपात तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य रूपमा सुधार भई ११ दशमलव ४९ प्रतिशत पुगेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात १० प्रतिशतभन्दा कम भएकाले सिघ्र सुधारात्मक कारबाहीमा परेको बैंकले पूँजीकोषमा सुधार भएपछि उक्त कारबाहीबाट हट्ने अपेक्षा गरेको छ । चैत्र मसान्तमा बैंकको प्रति शेयर आम्दानी रू. १८ दशमलव ७६ रुपैयाँ, निष्कृय कर्जाको अनुपात ८ दशमलव ६४ प्रतिशत, तरलता अनुपात ३६ दशमलव ३६ प्रतिशत र नेटवर्थ प्रतिशेयर रू. ७९ दशमलव ८९ रहेको छ । राष्ट्र बैंकले प्रादेशिकस्तरको विकास बैंकको लागि तोकेको न्यूनतम चुक्ता पूँजी रू. १२० करोड पुर्याउन हालकायम रहेको चुक्ता पूँजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरी स्वीकृतिको लागि राष्ट्र बैंक समक्ष पेश गरिसकेको बताइएको छ ।