काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटीले गर्ने भएको छ ।
लस्ट होराइजन जंगल रिसोर्ट लि. को साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट यही वर्ष (सन् २०२५)को अन्ततिरबाट एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।
२५ एकड जमिनमा फैलिएको यो रिसोर्टबाट मौसम सफा भएको बेलामा सगरमाथालगायत अन्य हिमाल र मनोरम पहाडको दृश्य अवलोकन गर्न सकिन्छ ।
काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर ग्रुपका प्रवन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षिण एरियाको विलासी पर्यटकीय गन्तव्यको रूपमा अघि बढिरहेको बताए ।
उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफेर कोरका प्रबन्ध निर्देशक सौभाग्य महोपत्राले उक्त रिसोर्ट आफूहरूको सोचेअनुसारको राम्रो गन्तव्य रहेको बताए ।
लस्ट होराइजन जंगल रिसोर्ट लि. का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोरको आतिथ्यताको दृष्टिकोण, अन्तरराष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवा र लामो अनुभव हाम्रो आरन्य रिसोर्ट सञ्चालन गर्ने परिकल्पना गरे अनुसार नै मिलेको बताए ।
रिसोर्ट नजिकै थ्रान्गु ताशी याङ्त्से गुम्बा रहेकाले त्यहाँबाट इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ ।
यस रिसोर्टमा मनोमोहक दृष्य हेर्न मिल्ने ठूला-ठूला झ्याल सहितको ५१ ओटा आकर्षक डिजाइनका कटेज र स्वीटस् हुनेछन् । त्यहाँ स्वीमिङ्ग पुल र बालबालिकाका लागि छुट्टै किड्स क्लब पनि रहनेछ ।