काठमाडौं । देशभित्र वित्तीय कारोबार गर्ने संस्थाको संख्या बढ्दै गएपछि बैंक, वित्तीय संस्थाको अंश घटेको छ । सामाजिक सुरक्षा कोष, इन्स्योरेन्स कम्पनीलगायतमा कारोबार गर्दा वित्तीय संस्थाहरूको बजार अंशमा प्रभाव देखिएको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा सम्पत्तिको आधारमा बैंक, वित्तीय संस्थाको बजार अंश ७८ दशमलव २६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष (आव) मा बैंक, वित्तीय संस्थाहरूको बजार अंश ७९ दशमलव ८४ प्रतिशत थियो ।
गत आवमा वाणिज्य बैंकको सम्पत्ति वृद्धि भए पनि विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकको घट्दा समग्रमा बैंक, वित्तीय संस्थाको बजार अंश कमजोर भएको हो । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति १२ दशमलव शून्य १ प्रतिशतले वृद्धि भई ७२ खर्ब ४२ अर्ब ७४ करोड रुपैयाँ बराबर पुगेको छ जुन समग्र वित्तीय स्रोतको ६५ दशमलव शून्य ४ प्रतिशत हो । वित्तीय प्रणालीमा वाणिज्य बैंकहरूले प्रमुख स्थान ओगटेका छन् ।
अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा विकास बैंकको बजार अंश ६ दशमलव ७१ बाट ६ दशमलव ४४ प्रतिशतमा, फाइनान्स कम्पनीको १ दशमलव ५५ बाट १ दशमलव ५४ प्रतिशतमा र लघुवित्तको ५ दशमलव शून्य ९ बाट ४ दशमलव ९७ प्रतिशतमा झरेको राष्ट्र बैंकले बताएको छ ।
यसैगरी अघिल्लो आवको तुलनामा सहकारी क्षेत्रको बजार अंश पनि कमजोर देखिएको छ । अघिल्लो आव सहकारी क्षेत्रको बजार अंश ४ दशमलव ४८ प्रतिशत रहेकोमा गत आवमा घटेर ४ दशमलव शून्य २ प्रतिशतमा झरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै गत आवमा इन्स्योरेन्स कम्पनी, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषहरूले भने बजार अंश बढाएका छन् । इस्योरेन्स कम्पनीको अंश ८ दशमलव ५३ बाट ८ दशमलव ९२ प्रतिशत, नागरिक लगानी कोषको २ दशमलव ६६ बाट २ दशमलव ७७ प्रतिशत र सामाजिक सुरक्षा कोषको शून्य दशमलव ७५ बाट शून्य दशमलव ८८ प्रतिशत पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक गतिविधिमा देखिएको शिथिलताका कारण वित्तीय क्षेत्रमा खराब कर्जा वृद्धि तथा सम्पत्तिको गुणस्तरमा निरन्तर गिरावट देखिएको र यसले सुपरिवेक्षकीय चिन्ता बढाएको बताइएको छ । वित्तीय स्थिरता कायम राख्न सतर्क, सक्रिय र विवेकशील नियमन गर्न समेत राष्ट्र बैंकले सुझाव दिएको छ ।