काठमाडौं । आवेदनदेखि असुलीसम्मका प्रक्रिया मोबाइल बैंकिङ एप्समार्फत हुने गरी शुरू गरिएको बैंकहरूको विद्युतीय कर्जा (डिजिटल लेन्डिङ) सेवामा लोकप्रियतासँगै जोखिम पनि बढ्दै गएको छ । बैंकहरूको डिजिटल कर्जा प्रवाह सेवाअन्तर्गत ऋण लिनेको संख्या बढे पनि असुली कमजोर हुन थालेपछि बैंकहरूको निष्क्रिय कर्जामा दबाब बढ्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले २०७८ सालमा ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८’ जारी गर्दै सूचनाप्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो, छरितो, सरल र सहज रूपमा कर्जा प्रदान तथा असुली गर्ने कामलाई सहजीकरण गरेको थियो । कार्यविधिमा बैंक तथा वित्तीय संस्थाहरूले तलबी खाता भएका ग्राहकलाई अधिकतम ५ लाख र अन्य ग्राहकलाई २ लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट दिन सक्ने व्यवस्था गरेको छ ।
- एफवान सफ्ट कम्पनीका अनुसार हालसम्म ३ लाख ४२ हजारभन्दा बढी ग्राहकलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह
- आर्थिक वर्ष २०८०/८१ सम्ममा नेपालका १३ ओटा बैंक, वित्तीय संस्थाद्वारा डिजिटल माध्यमबाट झन्डै २ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह
राष्ट्र बैंकले मार्गदर्शन जारी गरेसँगै भुक्तानी प्रणाली सञ्चालक एफवान सफ्ट कम्पनीले ‘फोन लोन’कार्यक्रम शुरू गर्यो । नबिल बैंकबाट शुरू भएको कम्पनीको यो सेवा अहिले १० ओटा वाणिज्य बैंकहरूमा उपलब्ध छ ।
कम्पनीका अनुसार हालसम्म ३ लाख ४२ हजारभन्दा बढी ग्राहकलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह भइसकेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा नेपालका १३ ओटा बैंक तथा वित्तीय संस्थाले डिजिटल माध्यमबाट झन्डै २ अर्ब ९८ करोड रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको ‘२०७७ देखि २०८१ सालसम्म सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू’ शीर्षक प्रतिवेदनमा मागदर्शन जारी भएपछि डिजिटल लेन्डिङ प्रणालीको विस्तारसँगै कर्जाको पहुँचमा उल्लेखनीय वृद्धि भएको उल्लेख छ ।
फोन लोन सेवा सुविधा दिने बैंकहरूः
- कृषि विकास
- सिटिजन्स
- एभरेष्ट
- कुमारी
- लक्ष्मी सनराइज
- माछापुच्छ्रे
- नबिल
- नेपाल इन्भेष्टमेण्ट मेगा
- एन.आई.सी. एशिया
- प्रभु
बैंकहरूले विनाधितो प्रवाह गर्ने यो ऋण असुल गर्न पछिल्लो समय बैंकहरूलाई सकस बढ्दै गएको छ । फागुन अन्तिम साता नबिल बैंकले फोन लोन नतिरेको भन्दै ७४ जना ऋणीलाई ३५ दिनभित्र कर्जा तिर्न सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डित विद्युतीय कर्जा उठाउन बैंकहरूलाई समस्या परेको बताउँछन् । ‘सजिलै ऋण पाउने भएपछि आवश्यक नहुने व्यक्तिले पनि लिने प्रवृत्ति छ,’ उनले भने, ‘अहिले असुली नहुँदा बैंकहरूको खराब कर्जा बढेको छ ।’ असुली कमजोर भएपछि बैंकहरूले कर्जा प्रवाहमा कडाइ गर्दै लगेको उनले सुनाए ।
के हो फोन लोन ?
बैंकको मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूलाई तुरुन्तै साना र छोटो अवधिका ऋण प्रदान गर्ने डिजिटल ऋण सेवा हो । यसअन्तर्गत ग्राहकले धितोरहित, कागजविहीन र छिटो ऋण प्राप्त गर्न सक्छन् ।
यस्तो कर्जाका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङमार्फत आवेदन दिने, ‘डिसिजन एनालिटिक्स’ सफ्टवेयरमार्फत स्वचालित विश्लेषण प्रणालीद्वारा निर्णय गरी ऋण रकम ग्राहकको बैंक खातामा केही मिनेटमै जम्मा हुन्छ । सर्वसाधारणलाई आपत्कालीन अवस्थामा आवश्यक पर्ने स्वास्थ्य उपचार, यात्रा र घरायसी खर्चलगायतका लागि फोन लोन उपयुक्त हुने कम्पनीले बताएको छ । हाल नियमित रूपमा तलब पाउने व्यक्तिहरूमा सीमित फोन लोन विस्तारै भाडा आय, पेन्सनलगायत निश्चित स्रोत भएका अन्य ग्राहकहरूमा पनि विस्तार गर्ने तयारी रहेको कम्पनीले बताएको छ ।