काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यसमेत थप गरी थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले कुल शेयर पूँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ निष्कासनको प्रस्तावसहित कम्पनीले पुस २९ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
संस्थापक शेयरधनीको तर्फबाट पाँच र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । एफपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव पनि गरेको छैन । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।