गाजा (इजरायल) । इजरायली सेनाको हवाई हमलामा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाका तीन छोरा मारिएका छन् ।
मध्य गाजापट्टीमा हवाई आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहका छोराहरू अमीर, मोहम्मद र हाजेम हानियाको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले बुधवार पुष्टि गरेको छ ।
आईडीएफ र इजरायल सुरक्षा बल (आईएसए)द्वारा निर्देशित इजरायली वायुसेनाले गरेको हमलामा उनीहरूलाई बोकेको गाडी क्षतविक्षत भएको थियो ।
आईडीएफले बुधवार जारी गरेको एक विज्ञप्तिमा मध्य गाजापट्टीमा आतंककारी गतिविधि सञ्चालन गर्ने हमासका तीन सैन्य अपरेटिभहरू मारिएको दाबी गरेको छ । विज्ञप्तिअनुसार अमिर हमासको सैन्य शाखाका सेल कमाण्डर, मोहम्मद र हाजेम आतंककारी संगठनका सैन्य अपरेटिभ रहेको दाबी गरिएको छ ।
हमासका राजनीतिक प्रमुख हानियाले पनि बुधवार विज्ञप्ति जारी गर्दै आफ्ना छोराहरूको मृत्यु भएको पुष्टि गरेका छन् । ‘गाजाका बासिन्दाले आफ्ना छोराछोरीको रगतले ठूलो मूल्य चुकाउनु परेको छ । र, म तिनीहरूमध्ये एक हुँ,’ विज्ञप्तिमा उल्लेख छ ।
इजरायलमा हमासले गत अक्टोबर ७ मा गरेको हमलायता शुरु भएको इजरायल–हमास युद्धमा आफ्नो परिवारका ६० जनाको मृत्यु भएको उनले बताए ।
इजरायली अधिकारीका अनुसार प्रारम्भिक आतंकवादी हमलामा करीब १२ सय जनाको मृत्यु भएको थियो । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको बमबारीमा ३३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
इजरायल र हमास बीचको युद्धविराम सम्झौताको असफल प्रयासको बीचमा हमासका एक वरिष्ठ नेताको परिवारमाथि हमला भएको हो ।
इता इजरायलको वाल्ला समाचार एजेन्सीले वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको समाचारमा हमास नेता इस्माइल हनियाका छोराछोरीलाई मार्ने हवाई हमला गर्ने निर्णयमा कुनै पनि शीर्ष राजनीतिक नेता संलग्न नभएको उल्लेख गरेको छ ।
समाचारअनुसार इजरायली सेना र शिन बेट गुप्तचर सेवाले प्रधानमन्त्री नेतन्याहु वा रक्षामन्त्री योभ ग्यालान्टसँग परामर्श नगरी उक्त योजना बनाएको बताइएको छ । हानियाका तीन छोराहरू उनीहरूको बुबासँगको सम्बन्धको कारणले होइन, हमासको सैन्य शाखामा उनीहरूको भूमिकाका कारण मारिएको बताइएको छ । एजेन्सी