काठमाडौं । प्यालेस्टिनी प्रिजनर्स सोसाइटीका अनुसार इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताअन्तर्गत तेस्रो चरणमा ११० जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिने भएको छ। हमास र अन्य प्यालेस्टिनी समूहले पाँच जना थाई नागरिक तथा तीन जना इजरायलीसहित आठ जना बन्दीलाई रिहा गर्ने योजना बनाएका छन्।
यस सम्झौताअन्तर्गत निर्वासनमा पठाइने २० जना कैदी समावेश हुने छैनन्। जेल वकालत समूहले रिहा हुने कैदीहरूको नाम तथा उमेरको सूची सार्वजनिक गरेको छ, जसमा कम्तीमा ३० जना बालबालिका रहेका छन्।
सन् २०२१ मा इजरायली जेलबाट भागेर सुरक्षा अधिकारीहरूलाई चकित तुल्याएका प्रख्यात प्यालेस्टिनी प्रतिरोधी लडाकु तथा थिएटर निर्देशक ४९ वर्षीय जकारिया जुबैदी पनि यस सूचीमा समावेश छन्।
इजरायली सेनाकोआक्रमण अझै जारी हजारौं अझै थुनामा
कब्जा गरिएको पश्चिम किनारामा प्यालेस्टिनी प्रतिरोधको केन्द्र मानिने जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको हिंसात्मक आक्रमणहरू अझै जारी रहेका छन् । हाल इजरायली सेनाले त्यहाँ सघन सैन्य अभियान सञ्चालन गरिरहेको छ । यस क्रममा कम्तीमा १६ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएका छन्।
इजरायली सेनाले बुधबार १८ जना प्यालेस्टिनीको हत्या गरेको र जेनिन तथा तुल्कारेममा ६० जनालाई पक्राउ गरेको जनाएको छ।
इजरायल र हमासबीचको युद्धविराम जारी रहेका बेला रिहा गरिने ११० जना प्यालेस्टिनीहरूसँगै इजरायली जेलबाट हालसम्म ४०० प्यालेस्टिनी रिहा भइसकेका छन् । यस अवधिमा इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारामा दर्जनौं प्यालेस्टिनीलाई गिरफ्तार गरेको छ । जसमा पूर्वी जेरुसेलमबाट पक्राउ गरिएका १२ जना समेत छन्। यी व्यक्तिहरूलाई 'खुसी मनाएको' तथा 'हमाससँग सम्बद्ध रहेको' आरोप लगाइएको छ।
रिहाइको वर्तमान चरणभन्दा अघि इजरायली हिरासतमा १० हजार ४०० प्यालेस्टिनी रहेका थिए । जसमा ३ हजार ३०० भन्दा बढी व्यक्ति बिना कुनै आरोप वा परीक्षण प्रशासनिक हिरासतमा राखिएका थिए। एजेन्सी