क्यानडा । क्यानडाको लिबरल पार्टीको नेतामा मार्क कार्नी निर्वाचित भएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी क्रिस्टिया फ्रिल्यान्डलाई पराजित गरी उनी दलको नेतामा निर्वाचित भएका हुन् ।
करीब १ लाख ५२ हजार मत खसेकोमा कार्नीले ८५.९ प्रतिशत मत प्राप्त गरे । फ्रिल्याण्डले भने केवल आठ प्रतिशत मात्र मत पाएकी छन् ।
जितसँगै ५९ वर्षीय कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनले केही दिनमा प्रधानमन्त्रीको पदभारसमेत सम्हाल्ने भएका छन् ।
कार्नीले ट्रम्पको विरुद्धमा उभिने वाचाका साथ चुनाव प्रचार गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानाडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने कर वृद्धिका विषयमा बारम्बार सार्वजनिकरूपमा बोल्दै आएका छन् ।
कार्नीले यसअघि बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्ग्ल्याण्डको नेतृत्व गरिसकेका छन् ।
उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वले क्यानडामाथि ‘अँध्यारा दिन’को शुरूवात गरेको बताएका थिए । उनले ट्रम्पमाथि ‘क्यानेडियाली कामदार, परिवार र व्यवसायहरूमाथि आक्रमण’ गरेको आरोप लगाएका छन् ।
‘हामी उहाँलाई क्यानडाका विषयमा सफल हुन दिन सक्दैनौं,’ लिबरल पार्टीका नवनिर्वाचित नेता कार्नीले भने ।
ओटावामा पार्टी समर्थकहरूको विशाल भीडलाई सम्बोधन गर्दै कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानडालाई नियन्त्रण गर्न खोजिरहेको आरोप लगाए । ‘अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्,’ उनले भने, ‘यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो ।’
नतिजा घोषणा हुनुअघि बिदाइ समारोहलाई सम्बोधन गर्दै ट्रुडोले भने, ‘क्यानडाका नागरिकले हाम्रो छिमेकीबाट अस्तित्वको चुनौतीको सामना गरिरहेका छन् । आगामी नेतृत्वले यसको कुशलतापूर्वक समाधान निकाल्नेछ ।’ रासस र एएफपीको सहयोगमा