मनिला (फिलिपिन्स) । मानवताविरुद्धको अपराध गरेको आरोपमा फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ परेका छन् ।
अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलवार मनिलाको अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्यहाँको सरकारले पुष्टि गरेको छ । उनी हङकङबाट फिलिपिन्स फर्किँदै गर्दा विमानस्थलमा पक्राउ परेका हुन् ।
डुटेर्टेमाथि लागुऔषध विरोधी अभियानका क्रममा ६ हजारभन्दा बढी मानिस मारेको प्रहरीको तथ्यांक रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गिरफ्तारीपछि उनका समर्थकहरूले विमानस्थलमा हंगामा गरेका थिए । उनका वकिलहरूले यसलाई संवैधानिक अधिकारको उल्लंघन भनेका छन्।
डुटेर्टेको गिरफ्तारीपछि लागुऔषध विरोधी हिंसाका पीडितहरूका परिवारले भने न्याय पाउने आशा जागेको बताएका छन् ।
सन् २०१७ मा प्रहरीले मारेका किशोर कियान डेलोस सान्तोसका काका यान्डी डेलोस सान्तोसले भने, ‘अब हामीले न्याय पाउने आशा गरेका छौं । शीर्ष प्रहरी अधिकारीहरू र गैरकानूनी हत्यामा संलग्न सयौं प्रहरी अधिकारीहरूलाई पनि हिरासतमा लिइनुपर्छ र दण्डित गरिनुपर्छ ।’ रासस र एपीको सहयोगमा