नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी उत्पादनमा लाग्ने कर घटाउन सहमत भएको घोषणा गरेको केही दिनपछि भारतले यस विषयमा कुनै पनि आयात कर घटाउने प्रतिबद्धता नगरेको जवाफ दिएको छ।
आफ्नो दोस्रो कार्यकालको शुरुआतका केही हप्तामै ट्रम्पले मित्र र विरोधी देशहरूलाई समान रूपमा लक्ष्यित गरी विश्वव्यापी व्यापार नीतिमा कडाइ गर्ने प्रयास गरेका छन् । उनले आगामी महिनादेखि भारतलगायत धेरै देशमा पारस्परिक भन्सार शुल्क लगाउने घोषणा गर्दै सबै व्यापारिक साझेदारहरूलाई अनुचित व्यवहार गरेको आरोप लगाएका थिए ।
गत हप्ता ट्रम्पले भारतले लगाएको उच्च भन्सार दरको फेरि आलोचना गर्दै भनेका थिए, “भारतमा केही पनि बेच्न सकिन्न, यो लगभग प्रतिबन्धजस्तो छ। तर उनीहरू (भारत) अहिले कर घटाउन सहमत भएको छ, किनभने अन्ततः उनीहरूले गरेका कार्यहरू उजागर भइरहेका छन्।”
यसको प्रतिक्रियामा भारत सरकारले मङ्गलबार टाइम्स अफ इन्डिया को एक रिपोर्टमार्फत् स्पष्ट पारेको छ कि “अमेरिकासँग यस विषयमा कुनै औपचारिक प्रतिबद्धता गरिएको छैन।” रिपोर्ट अनुसार, “सरकारले सेप्टेम्बरसम्म समय माग्दै अमेरिकी राष्ट्रपतिको मागलाई सम्बोधन गर्ने तयारी गरेको छ।”
भारतका वाणिज्य सचिव सुनील बर्थवालले जनाए अनुसार, “भारत र अमेरिका छिटो भन्सार समायोजनभन्दा पनि दीर्घकालीन व्यापार सहयोगमा केन्द्रित छन्। दुबै देशले पारस्परिक फाइदा हुने गरी द्विपक्षीय व्यापार सम्झौताको दिशामा काम गरिरहेका छन्।” गत महिना व्हाइट हाउस भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच मित्रतापूर्ण सम्बन्ध रहेको छ। ट्रम्पले मोदीसँगको भेटलाई “विशेष सम्बन्ध” भनेका थिए भने मोदीले अमेरिका र भारतबीच “पारस्परिक लाभदायी सम्झौता” शीघ्र नै पूरा हुने आशा व्यक्त गरेका थिए।
अमेरिका भारतको आईटी र सेवा क्षेत्रको प्रमुख बजार हो। साथै, वासिङ्टनले हालका वर्षहरूमा भारतलाई अरबौं डलरको सैन्य उपकरण बेचेको छ। यस वर्षको अन्त्यमा क्वाड (अस्ट्रेलिया, भारत, जापान र अमेरिका) को शिखर सम्मेलनमा सहभागी हुन ट्रम्पले भारत आउन सक्ने सम्भावना रहेको छ। रासस/एएफपी