फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिवार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना शुरु भएको छ ।
बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने सर्वदलीय निर्णय भए पनि करीब एक घण्टा ढिला गरी मतगणना शुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना शुरु भएको हो ।
यहाँका ६ ओटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।
त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उनले बताए । सोमवार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनले बताए ।
मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने उनले जानकारी दिए । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।
कुल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस