काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेड (Janaki Finance Company Ltd.)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५३ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको नाफा ७० दशमलव ७६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज (Impairment Charge) ११७ दशमलव ९१ प्रतिशत बढी भएकाले कुल सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । गत वर्ष रू. ४ करोड ७२ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. १० करोड २९ लाखभन्दा बढी छ । सञ्चालन नाफा भने गत वर्ष रू. ६ करोड ६४ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोड ९५ लाखभन्दा बढी मात्र भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी (Paid Capital) रू. ६९ करोड ४ लाख ७२ हजार छ । गत असार मसान्तसम्म रू. ६ करोड २० लाखभन्दा बढी रहेको रिटेन्ड अर्निङ तेस्रो त्रैमाससम्म भने रू. १९ करोड ५५ लाखभन्दा बढी ऋणात्मक छ । जगेडा कोष रकम भने गत असार मसान्तसम्मको तुलनामा ४५ दशमलव ४३ प्रतिशत बढेर रू. २९ करोड ८२ लाखभन्दा बढी कायम भएको छ ।
तेस्रो त्रैमाससम्म रू. ३ अर्ब ३४ करोड ५६ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ६२ करोड ७७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ८० प्रतिशत रहेकोमा यस वर्ष २३ दशमलव ६० प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव ९६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ८८ छ ।