काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव ३३ प्रतिशत घटेको छ । गत आवमा बैंकले रू. २ अर्ब १८ करोड नाफा कमाएकोमा चालू आवमा रू. १ अर्ब ८६ करोडमा झरेको छ ।
चालू आवमा बैंकको इम्पेयरमेन्ट चार्ज बढेसँगै नाफा प्रभावित भएको हो । गत आवमा बैंकको इम्पेयरमेन्ट चार्ज रू. २८ करोड ११ लाख रहेकोमा चालू आवमा रू. ८६ करोड १५ लाख पुगेको छ ।
सञ्चालन नाफा भने बैंकको २ दशमलव १९ प्रतिशत वृद्धि भएको छ । गत आवमा बैंकको सञ्चालन नाफा रू. ३ अर्ब ११ करोड रहेकोमा चालू आवमा बढेर रू. ३ अर्ब १८ करोड पुगेको छ । खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १४ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी रू. ३ अर्ब ८७ करोड रहेकोमा चालू आवमा बढेर रू. ४ अर्ब ४१ करोड पुगेको हो ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेकोमा चालू आवमा घटेर १९ रुपैयाँ २८ पैसामा झरेको छ ।
बैंकको चुक्तापूँजी रू. १९ अर्ब ४० करोड छ । बैंकले जगेडामा रू. १० अर्ब ३१ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब ८४ करोडभन्दा बढी सञ्चिति गरेको छ ।