काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ लाख ४८ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ११ करोड २८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घट्दा खुद नोक्सानी सुधारिएको हो । अघिल्लो वर्ष ३१ करोड ५९ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष १२ करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो ।
अघिल्लो वर्ष १६ करोड ३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने ५७ लाख १९ हजार रूपैयाँ सञ्चालन नाफा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ६९ करोड ४ लाख ७२ हजार रूपैयाँ छ । रिटेन्ड अर्निग २० करोड ९४ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने २९ करोड ८७ लाख रूपैयाँभन्दा बढी छ । गत चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४८ करोड ९१ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ अर्ब १४ करोड ६८ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन अघिल्लो वर्षभन्दा ६ दशमलव ३८ प्रतिशत र कर्जा प्रवाह १६ दशमलव २० प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा अघिल्लो वर्ष १६ दशमलव ६७ प्रतिशत रहेकोमा गत वर्ष १८ दशमलव ६५ प्रतिशत कायम भएको छ । ७६ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रूपैयाँ ९४ पैसा रहेको छ ।