काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको सोही अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १०४ दशमलव ५९ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा २ करोड १० लाख रुपैयाँभन्दा बढी थियो ।
यस वर्ष इम्पेयरमेन्ट चार्जबापतको २ करोड ५३ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएसँगै कम्पनीको खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष यस अवधिमा कम्पनीले इम्पेयरमेन्ट चार्जबापत करीब ९ लाख रुपैयाँ छुट्याएको थियो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ३ करोड ३६ लाख रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङमा ५ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने ३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी छ ।
कम्पनीले दोस्रो त्रैमाससम्म २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस अवधिसम्म कम्पनीले ५ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ४ दशमलव ७७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ३५ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २५१ रुपैयाँ ७४ पैसा छ ।