काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो ।
इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समितिहरू बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिहरूलाई प्रस्तुत गर्नको लागि विशेष कार्यक्रमसहित इप्पानको रजत जयन्ती मनाउन गइहेको कार्कीको भनाइ थियो । इप्पान २०५७ सालमा स्थापना भएको हो ।
कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपालको ऊर्जा विकाससँगै देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउन संस्थाको महत्त्वपूर्ण योगदान रहेको बताए ।
आगामी माघ ४ गते काठमाडौंको होटल मेरियटमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने रजत जयन्ती समारोहमा अर्थमन्त्री, ऊर्जामन्त्री, पूर्व ऊर्जामन्त्रीहरू लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहने डाँगीले जानकारी दिए ।
इप्पानले रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्ने र उक्त स्मारिका प्रधानमन्त्रीको हातबाट विमोचन गराउने पनि इप्पानले जानकारी दिएको छ ।
रजत जयन्तीको पूर्वसन्ध्यामा फुटसल र ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी र्याली, निबन्धलेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण लगायतका प्रतियोगिता गरिने इप्पानले जनाएको छ ।