वासिङ्टन । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताएका छन् । एक्समा प्रकाशित अनलाइन समाचार प्रस्तोता टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा विटकोफले ट्रम्पले इरानको सरकारलाई हालै लेखेको पत्रलाई धम्कीको रुपमा नराखिएको बताएका हुन् ।
संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि दुश्मनी रहेको छ । गाजामा लक्ष्यमा नयाँ इजरायली आक्रमण र यमनको इरान समर्थित हुथी विद्रोहीहरूको मालबाहक पानीजहाजलाई धम्की दिएपछि सम्बन्धमा नयाँ समस्या देखिएको छ ।
गत मार्च ७ मा ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र लेख्दै इरानी आणविक कार्यक्रमबारे वार्ता पुन: शुरू गर्न आग्रह गरेका थिए । उनले सम्भावित सैन्य कारबाहीको चेतावनी पनि दिएका थिए । खामेनीले शुक्रबार टेलिभिजनमा सम्बोधन गर्दै भने, "अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले उनीहरूलाई कहीँ पनि पुर्याउँदैन ।”
ट्रम्पको पहुँचको बचाउ गर्दै विट्कोफले कार्लसनसँग भनेका छन्, "ट्रम्पको सेनामा उच्च हात छ र इरानीहरूले कूटनीतिक समाधानका लागि दबाब दिनु स्वाभाविक हुनेछ तर उनले त्यसो गरिरहेका छन् ।”
"पत्रमा राष्ट्रपति ट्रम्पले ‘म शान्तिको राष्ट्रपति हुँ। म यही चाहन्छु । हामीले सैन्य रूपमा यसो गर्नुपर्ने कुनै कारण छैन। हामीले वार्ता गर्नुपर्छ,’ भन्नुभएको छ,” विटकोफले भने । उनले भने, "हामीले प्रमाणीकरण कार्यक्रम सिर्जना गर्नुपर्छ ताकि कसैले पनि तपाईंको आणविक सामग्रीको हतियारीकरणको बारेमा चिन्ता नगरोस् किनभने यो धेरै राम्रो विकल्प होइन।” विटकोफले भने, "इरानसँग अमेरिकी वार्ता धेरै मुलुक र धेरै माध्यम वा ‘अप्रत्यक्ष च्यानल’, मार्फत जारी छ ।” उनले भने, "इरानसँग सबै कुरामा सफाइ लिने अवसर खुला छ । यसले उनीहरूलाई विश्व समुदायबाट टाढिएको सम्बन्धलाई जोड्नेछ र एक पटक फेरि एक महान राष्ट्र बन्नाउनेछ । ट्रम्पले इरानीहरूसँग भरोसा बढाउन चाहनुहुन्छ।”
गाजामा नयाँ तनाव देखिनु ‘निराशाजनक’
यता गाजामा युद्ध पुन: भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक थाइ नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ । गत जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भङ्ग भएपछि इजरायलले मङ्गलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण शुरू गरेको छ ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरीमा युद्धविराम लागू भएयताको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "गाजा क्षेत्रमा शत्रुताको पुनरागमनप्रति थाइल्याण्ड निकै चिन्तित र निराश छ ।”
दक्षिणपूर्वी एशियाली राष्ट्रले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न र युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुन: शुरू गर्न आग्रह गरेको छ । थाइल्याण्डले गाजामा रहेका एक जना थाइसहित बाँकी बन्धकहरूको रिहाइ र दुई जना थाई नागरिकको शव फिर्ता गर्न माग गरेको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाईनागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महीनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो । जनवरीमा भएको युद्धविरामको एक भागको रूपमा फेब्रुअरीमा अपहरणमा परेका थप पाँच थाईहरू घर फर्केका थिए । एक थाई नागरिक अझै गाजामा जीवित रहेको विश्वास गरिएको छ। रासस