काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ४ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि सभा बोलाएको हो ।
जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले द एसआर होटल तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे सभा गर्ने निणर्य गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई अन्तिम रूप दिनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १६ करोडका आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यस वर्ष ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश संशोधन गरी १५ प्रतिशतमा झारेको हो । १५ प्रतिशत लाभांश वितरणपछि बाँकी सम्पूणर् रकम मुनाफा कोषमा रहिरहने र सो कोषबाट आगामी आर्थिक वर्षहरूमा लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूणर् जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्य पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा जेठ २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।