काठमाडौँ । यस वर्ष वसन्त याममा सगरमाथा आरोहणका लागि गएका २ जना पर्वतारोहीको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । सगरमाथा आरोहणका क्रममा एकजना भारतीय र एकजना फिलिपिनी आरोहीको मृत्यु भएको पर्वतारोहण कम्पनीका अधिकारीहरूले जानकारी दिएका हुन् ।
बिहीवार सगरमाथा आरोहणपछि तल ओर्लंदा हिलारी स्टेप्समा भारतका ४५ वर्षीय सुब्रत घोषको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । यसैगरी‚ फिलिपिनी ४५ वर्षीय फिलिप सान्टियागोको आरोहण क्रममा साउथ कोलमा मृत्यु भएको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
घोष हिलारी स्टेप्सबाट अझै तल ओर्लन अस्वीकार गरेको स्नोई होराइजन ट्रेक्स एण्ड एक्सपिडिशनका बोधराज भण्डारीको भनाई समाचार एजेन्सीहरूले उद्धृत गरेका छन् । विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । भण्डारीले भने‚ "उहाँको शव आधारशिविरमा ल्याउने प्रयास भइरहेको छ । पोष्ट मार्टम गरेपछि मात्र उहाँको मृत्युको कारण पत्ता लाग्नेछ ।"
सगरमाथा आरोहणमा ८ हजार मिटरस्थित साउथ कोल र सगरमाथा शिखरको बीचमा रहेको हिलारी स्टेप्समा उचाइका कारण हावा पातलो हुँदा अक्सिजनको मात्रा थोरै हुने भएकाले सास फेर्न कठिन हुन्छ ।
यसैगरी‚ फिलिपिन्सका ४५ वर्षीय फिलिप सान्टियागोको पनि आरोहणकै क्रममा बुधवार राति अबेर साउथ कोलमा मृत्यु भएको थियो । शिखरतर्फ उक्लिरहेका उनी थाकेर साउथ कोलस्थित चौथो शिविरमा आराम गरिरहेका वेला राति ७ देखि ८ बजेको बीचमा उनको मृत्यु भएको पर्यटन विभागले सम्बन्धित पर्वतारोहण एजेन्सी र सम्पर्क अधिकृतलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
घोष र सान्टियागो दुवै जना स्नोई होराइजन ट्रेक्स एण्ड एक्पिडिशनले व्यवस्थापन गरेको टोलीमा समावेश भएर आरोहणमा गएका थिए ।
यस वर्षको वसन्त अभियानमा सगरमाथा आरोहण गर्न ४५९ जना आरोहीले अनुमति लिएका छन् । मार्चदेखि मेसम्म हुने आरोहण अभियानमा यसपटक यो साता पथप्रदर्शकसहित करिब सय जनाले सगरमाथा आरोहण गरिसकेका छन् ।
सगरमाथाको आरोहण प्रयास हुन थालेको करीब सय वर्षमा आरोहणका क्रममा कम्तिमा ३४५ जनाको मृत्यु भइसकेको अनुमान गरिन्छ ।