काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरित जलवायु कोषजस्ता अन्तरराष्ट्रिय जलवायु वित्तीय संयन्त्रहरूमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले जलवायु परिवर्तनको प्रभाव निजी क्षेत्रले प्रत्यक्ष रूपमा भोगिरहेकाले त्यसको समाधानका लागि निजी क्षेत्र सक्रिय भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गरे ।
काठमाडौंमा जारी सगरमाथा संवादमा निजी क्षेत्रको तर्फबाट आफ्ना धारणा राख्दै अध्यक्ष ढकालले नेपालका सबै व्यवसायहरूले पहिल्यैदेखि जलवायु परिवर्तनको प्रत्यक्ष असर भोग्नुपरिरहेको बताए ।
अध्यक्ष ढकालले जलवायु परिवर्तनका समस्या समाधानमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन जलवायु वित्तीय संयन्त्रहरूमा प्रत्यक्ष पहुँच आवश्यक भएको स्पष्ट पारे । “यदि नेपालले जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी रूपमा अनुकूलन र प्रतिक्रिया दिनु पर्यो भने अन्तरराष्ट्रिय जलवायु वित्तीय स्रोतहरूमा निजी क्षेत्रको पहुँच सरल र सहज हुनुपर्छ,” उनले जोड दिए ।
आपूर्ति शृंखलामा अवरोध, कृषि तथा पर्यटनमा संकट यी सबै जलवायु परिवर्तनका कारणले उत्पन्न भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यी समस्या समाधानमा विश्व समुदायको तत्काल ध्यान जान जरुरी रहेको बताए ।
नेपालका होटलहरू सौर्य ऊर्जामा रूपान्तरण भइरहेको, किसानहरूले जलवायुमैत्री विधिहरू अपनाइरहेको र जलविद्युत् कम्पनीहरूले स्वच्छ ऊर्जामा लगानी बढाइरहेको उल्लेख गर्दै अध्यक्ष निजी क्षेत्रले गरेका प्रयासलाई अझ विस्तार गर्न थप सहयोग आवश्यक रहेको बताए ।
तेस्रो ध्रुव (थर्ड पोल) का रुपमा परिचित हिमालय क्षेत्र विश्वका अन्य क्षेत्रभन्दा तीव्र गतिमा तातिरहेको; यसले बाढीपहिरो र नदी प्रणालीमा परिवर्तन ल्याइरहेको; यसको असर पानी आपूर्ति, कृषि, र लाखौं मानिसको जीविकोपार्जनमा देखिएको भन्दै अध्यक्ष ढकालले विश्व समुदायको ध्यान आकृष्ट गराए ।
विदेशी लगानी र प्रविधि हस्तान्तरणले नेपालको जलवायु सहनशिलता बलियो बनाउन ठूलो भूमिका खेल्ने भएकाले सरकारले लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी कानून संशोधन गरेको, दुईपक्षीय लगानी सम्झौताको रूपरेखा तयार गरेको र हाल विदेशी मुद्रा सञ्चिति १७.६३ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिँदै अन्तरराष्ट्रिय साझेदार र लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रहसमेत गरे ।
हिमालहरू जोगाउन, जनताको भविष्य सुरक्षित गर्न र समावेशी, सुरक्षित तथा दिगो भविष्य निर्माण गर्न ढिला गर्न नहुने भन्दै अध्यक्ष ढकालले त्यसमा सहकार्यका लागि विश्व समुदायसँग आग्रह गरे । उनले यसमा साझेदारी र सहकार्य गर्न निजी क्षेत्र सधैं तत्पर रहेको समेत बताए ।