काठमाडौं । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा पुनः नाफामा फर्किएको जानकारी दिएको छ।
साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरीदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ।
कम्पनीले सन् २०२४ मा अनुमानित नाफा ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ । अघिल्लो वर्ष कम्पनी २.४५ अर्ब चिनियाँ युआन (३३७ मिलियन अमेरिकी डलर) घाटामा थियो ।
हुवावेसँगको सहकार्यमा विकसित सेरेस आइटो ब्रान्डका न्यू इनर्जी भेहिकल (नेभ)को विक्री बढेपछि सेरेसले यो वित्तीय सफलता हासिल गरेको हो ।
चोंगकिङमा मुख्यालय रहेको कम्पनीको सवारी विक्री गत वर्षको तुलनामा ९७ प्रतिशतले बृद्धि भई ४ लाख ९७ हजार युनिट पुगेको छ। नेभको विक्री भने झण्डै तीनगुणा वृद्धि भई ४ लाख २६ हजार ९०० युनिट पुगेको छ।
पछिल्ला १२ महीनामा सेरेसको शेयर मूल्यमा झण्डै १७ प्रतिशतको वृद्धि भएको कम्पनीको भनाइ छ।
सेरेस ग्रुपले हालै घोषणा गरेअनुसार, नोभेम्बरमा प्रस्ताव गरिएको लंगशेंग न्यू इनर्जी टेक्नोलोजीको अधिग्रहणका लागि ८.१७ अर्ब चिनियाँ युआन (१.१२ बिलियन अमेरिकी डलर) बराबरको शेयर विक्री योजनालाई शांघाई स्टक एक्सचेन्जले स्वीकृति दिइसकेको जानकारी दिएको छ।
लंगशेंग कम्पनी न्यू इनर्जी भेहिकल उत्पादनको लागि स्थापना गरिएको हो, जसको प्रमुख सम्पत्ति गिगाफ्याक्ट्री रहेको छ। सेरेसले हाल उक्त गिगाफ्याक्ट्री भाडामा लिएको छ, जहाँ आइटो सिरिजको उत्पादनका लागि ३ हजारभन्दा बढी रोबोटहरूको समन्वयमा सञ्चालन हुने गरी पूर्णरूपमा स्वचालित प्रणाली जडान गरिएको छ। प्रमुख उत्पादन प्रक्रियामा १०० प्रतिशत अटोमेसन सुनिश्चित गरिएको छ।
सिलिकन भ्यालीबाट स्थापना भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा व्यवसायिक उपस्थिति विस्तार गरिसकेको छ । युरोपको बजार प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्डको रूपमा पहिचान बनाएको छ।
अमेरिका, चीन, इन्डोनेसिया, जर्मनी तथा जापानमा कम्पनीले ६ ओटा अत्याधुनिक उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालनमा ल्याएको छ।
सेरेस ग्रुप चीनका सीमित लाभदायक अटोमोबाइल कम्पनीहरूमध्ये एक हो, जसले सन् २०२५ को पहिलो मासिकमा १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेको छ।