चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राई मलेसियामा रहेको र उनी रहेको ठाउँ पत्ता लागिसकेको बताए । उनले मलेसियाका गृहमन्त्रीसँग आफू लगातार सम्पर्कमा रहेको बताए ।
फरक प्रसङ्गमा गृहमन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए । उनले भने, 'हामीले शुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौै ।'
गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गरे । प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उनको भनाइ थियो । रासस