जनकपुरधाम । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा महोत्तरीको जलेश्वर भन्सार नाकाबाट रू. ७८ करोड ५३ लाख ६९ हजारको कृषि वस्तु आयात भएको छ । सो अवधिमा भारतबाट ४५ हजार ५३८ मेट्रिक टन कृषि वस्तु भित्रिएको छ ।
९ महीनामा सो भन्सार नाकाबाट खाद्यान्न मात्रै १८ हजार ६६३ मेट्रिक टन आयात भएको छ । रू. ४ करोड ४६ लाख ७५ हजार बराबरको उक्त परिमाणको खाद्यान्न भारतबाट आयात गरिएको क्वारेन्टाइन कार्यालय, जलेश्वरका निमित्त प्रमुख किशोरकुमार यादवले बताए । यसैगरी रू. ६ करोड ८४ लाख ९३ हजार बराबरको १ हजार २३७ मेट्रिक दलहन वस्तु आयात गरिएको जानकारी उनले दिए ।
सोही अवधिमा फलफूल रू. २२ करोड २३ लाख २२ हजार बराबरको ५ हजार ४१३ मेट्रिक टन ताजा फलफूल भित्रिएको छ । यसैगरी २० हजार २२४ मेट्रिक टन अर्थात् रू. ४४ करोड ९३ लाख ७२ हजार बराबरको तरकारी आयात भएको कार्यालयले बताएको छ । यस्तै २ हजार ४०० मेट्रिक टनभन्दा बढी परिमाणका विभिन्न वस्तु भित्रिएको कार्यालयले बताएको छ ।
चैत मसान्तसम्ममा भिठामोड भन्सार नाकाबाट रू. २७ करोड ६२ लाख २३ हजार मूल्य बराबरको ३ हजार ४९१ मेट्रिक टन प्लाइउड भारतमा निर्यात भएको छ । कार्यालयका अनुसार उक्त सामग्रीबाट रू. १३ लाख ९३ हजार राजस्व संकलन भएको छ ।
मधेश प्रदेशमा उत्पादन भएको ३५ प्रतिशत कृषि वस्तु घरेलु बजारमा खपत हुन्छ । अन्नको भण्डार मानिने मधेश प्रदेशमा सिँचाइको अभाव, मलखादको समस्या र समयमा वर्षा नहुने जस्ता कारण कृषि वस्तुको उत्पादन घट्दै गएको छ । प्रदेशमा हजारौं हेक्टर उर्वर जमीन रहे पनि कृषि उत्पादनमा भइरहेको ह्रासले वर्षेनि करोडौं मूल्यको खाद्यान्न आयात गर्नुपर्ने स्थिति सृजना भएको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनाका किसान मो. नसिम फकिरले बताए ।