काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ७८ दशमलव १५ देखि २३४ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७८ दशमलव १५ रहेकोले उक्त ओपन रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीको आईपीओले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हिजो बिहीवार बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा १४ लाख ३२ हजार ८८१ जनाले कूल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका थिए । जसमा ८९ हजार ६४० जनाले मात्र शेयर हात पारेका छन् भने बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली भएको छ । जसमध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले आफ्नो जारी पूँजी रू. ६० करोड बराबरको १८ प्रतिशतले हुन आउने रू. १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।
कम्पनीले २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याई बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।