काठमाडौं। कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच दूरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका ६० भन्दा बढी युवा व्यवसायीको सहभागिता थियो । पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले मध्यस्थता गरेको कार्यक्रममा कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमन कार्की र एनवाईईएफ चितवनका पूर्व अध्यक्ष तथा व्यवसायी सुर्यभक्त अधिकारी वक्ताको रूपमा थिए ।
कार्यक्रममा एफसिए कार्कीले आर्थिक चक्रका हरेक चरणमा बैंक र व्यवसायीबीच फरक मत रहने भए पनि प्रचलित कानून र नियमको अधिनमा रही आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने तथा वित्तीय विवरणको पारदर्शिता कायम गर्न यस्ता कार्यक्रममार्फत व्यवसायीहलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए ।
एनवाईईएफ चितवनका पूर्वअध्यक्ष तथा व्यवसायी अधिकारीले व्यवसायी कोभिड १९ को चपेटाबाट अगाडि बढ्न नपाउँदै नियमनकारी निकायका विभिन्न नीतिले व्यवसायी थप आक्रान्त बनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकाले बैंकले साना तथा मझौला व्यवसायीलाई संरक्षण गर्नुपर्ने जिकिर गरे । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्था अग्रसर हुँदा व्यवसायीलाई असहज महसूस भए पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए ।