काठमाडौं। नेपाल रत्न तथा आभूषण संघले पदीय मर्यादा र संस्थाको विधानविपरीत गतिविधि र अभिव्यक्तिका कारण कारबाहीमा परेका केही व्यक्तिबाट संघका पदाधिकारी, पूर्वपदाधिकारी लगायत व्यवसायीविरुद्ध भ्रामक हल्ला फैलाउन थालिएको बताएको छ । संघले यस्ता भ्रामक प्रचारवाजीबाट भ्रमित नहुन आग्रह समेत गरेको छ ।
संघले एक विज्ञप्ति जारी गरी केही व्यक्तिले संघले कारबाही गरेपछि सञ्चारमाध्यमलाई संघका पदाधिकारीविरुद्ध भ्रामक र कपोलकल्पित सूचना उपलब्ध गराएर समाचार लेखाउने शृंखला शुरू गरेको आरोप लगाएको छ ।
संघले संघका बहालवाला एवं पूर्वपदाधिकारी, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीको नाम जोडेर प्रकाशित/प्रसारित हुने सामग्रीमा विश्वास नगर्न सरोकारवालालाई आग्रह गरेको छ । व्यवसायी र संघका पदाधिकारीविरुद्ध भ्रम फैलाउने काम जारी राखे त्यसविरुद्ध कानूनी उपचारमा जाने तथा त्यस्ता व्यक्तिलाई उनीहरूको व्यावसायिक प्रतिष्ठानबाट प्रचलित कानूनको परिपालना भए नभएको विषयमा संस्थागत रूपमै अनुसन्धान गरी सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउने संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।