काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले बालबालिकाका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण भइरहेको हेपाली हाइटस्थित ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’को बाल अस्पताललाई १ करोड रुपैयाँ प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ । बैंकले दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखेर समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको बताइएको छ ।