विराटनगर । कोशी प्रदेशबाट संघीय राजधानी काठमाडौं जोड्ने राजमार्ग अविरल वर्षाका कारण ठप्प भएपछि यात्रुहरू अलपत्र परेका छन् । हवाई भाडा महँगो भएको र टिकट समेत सजिलै उपलब्ध नहुँदा यसपटक दशैं मान्न पूर्वतर्फ आउने यात्रुलाई सास्ती भएको छ । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको बाटो पूर्ण रूपमा बन्द र मुग्लिङको बाटो सहज नभएकाले हवाई यात्रा विकल्प बनेको छ । हवाई यात्राका लागि अग्रिम टिकट बुकिङ गर्नुपर्ने भएकाले यात्रुले चाहेको बेला पाउँदैनन् ।
काठमाडौंको जुडीबुटीमा रहेकी विराटनगरकी सीता कार्की हवाई टिकट नपाउँदा आफू अन्योलमा रहेको बताउँछिन् । घटस्थापनामा घर पुगौंला भनेर बसको टिकट लिएकी उनी अहिले बाटो पहिरोले पुरेपछि हवाईजहाजमा विराटनगर जाने तयारीमा छिन् । तर टिकट नपाउँदा चिन्तामा छिन् । कोटेश्वर बस्दै आएकी विद्यार्थी कृतिका शर्मा पनि विराटनगर फर्कन चाहन्छिन् । तर उनले पनि न हवाई टिकट पाएकी छन्, न बसले समयमा पुर्याउने निश्चित छ ।
सरकारले हवाई सेवाप्रदायक कम्पनीसँग समन्वय गरेर यात्रुको चापअनुसार उडान गराउनुपर्ने र बाटोमा अलपत्र परेका यात्रुलाई हेलिकोप्टरको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउनुपर्ने उनी बताउँछिन् ।
विराटनगर–काठमाडौं ओहोरदोहोर गर्ने दैनिक ४० ओटा बस र दर्जनौं माइक्रोबस रहेकोमा अहिले आठओटा बस मात्र चलेका छन् । बिपी राजमार्ग अवरुद्ध हुँदा माइक्रोबस सञ्चालनमा छैनन् । मुग्लिङको बाटोमा पनि यात्रा गर्न कठिन छ । सुनौलो पूर्व नेपाल यातायात सेवा विराटनगरका सञ्चालक राजु धमलाका अनुसार सडक पार गर्न कठिन भएकाले सबै बस चल्न सकेका छैनन् ।
विराटनगरबाट काठमाडौं जाने बस चितवनको बाटोमा विभिन्न स्थानमा पहिरो गएकाले अवरोध पार गर्दै गइरहेको धमलाले बताए । ‘काठमाडौंबाट आउने यात्रु छन्, जाने छैनन् । एकतर्फी भाडा लिँदा गाडीलाई घाटा छ,’ उनले भने । सरकारले तोकेको २ हजार २०५ रुपैयाँ भाडामा बस चलिरहेका छन् । सडक अवरुद्ध हुनुअघि १ हजार ५०० रुपैयाँमै गाडीले यात्रु चढाउने गरेका थिए ।
विराटनगर बस टर्मिनलका इन्चार्ज भीम अधिकारीका अनुसार जोखिमपूर्ण बाटो उज्यालो समयमा मात्र पार गर्नुपर्ने बाध्यता छ । विराटनगरबाट अपराह्न ४ बजे चल्ने बस अहिले २ बजे नै छुट्छन् । यात्रुहरू नारायणघाटमा अडिएर उज्यालो हुँदा मात्र पहाडी बाटोमा यात्रा गर्न चाहन्छन् । हेटौंडामाथि भीमफेदीको बाटो सफा भएपछि पूर्वबाट माइक्रोबस सञ्चालन हुने सम्भावना रहेको व्यवसायीको भनाइ छ ।
बिपी राजमार्ग छोटो रूट भएकाले माइक्रोबस न्यूनतम भाडामा पनि चल्दथे । मुग्लिङको बाटो लामो रुट भएकाले सञ्चालनको खर्च धेरै रहेको बताइएको छ । इन्द्रेणी यातायात र हिमाल यातायातका सञ्चालक वसन्त काफ्लेले लामो दूरीका कारण मुग्लिङ हुँदै काठमाडौं जाने माइक्रोबस खर्च साविकको रूट (बीपी राजमार्ग)को भन्दा दोब्बर हुन्छ ।
एकतर्फी यात्राबाट उठ्ने रकमले माइक्रोबसलाई घाटा पर्ने हुँदा गाडी थन्क्याउनुपर्ने बाध्यता रहेको उनले बताए । सबै गाडी ऋण लिएर खरीद गरिएकाले गाडी नचल्दा बैंकलाई ब्याज तिर्नसमेत समस्या भएको गुनासो उनको छ ।