काठमाडौं । काठमाडौंमा आइसल्याण्डको महावाणिज्य दूतावास उद्घाटन गरिएको छ । नेपाल–आइसल्यान्डबीच सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गरिएको हो ।
मंगलवार काठमाडौंमा आयोजना गरिएको महावाणिज्य दूतावास उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उपसभामुख इन्दिरा राना, आइसल्याण्डका राजदूत गुड्नी ब्रागासन, नेपालका लागि आइसल्याण्डका नवनियुक्त अवैतनिक महावाणिज्यदूत विदुषी राणालगायत सहभागी थिए ।
समारोहमा आइसल्याण्डका राजदूत ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिए ।
नवनियुक्त अवैतनिक महावाणिज्यदूत राणाले नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू कृतज्ञता र प्रतिबद्ध रहेको बताइन् । उनले दुई देशबीच सांस्कृतिक तथा व्यापारिक आदानप्रदानलाई बढावा दिन आफूले भूमिका खेल्ने प्रतिवद्धता गरिन् ।