काठमाडौं । काठमाडौंमा ‘मेक इन नेपाल एक्स्पो २०२५’ र ‘नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१’ आयोजना हुने भएको छ ।
नेपाल पश्मिना उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको सहकार्य र राइजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा आगामी माघ १० देखि १२ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो आयोजना हुन लागेको हो ।
स्वदेशी उद्योग र व्यवसायलाई प्रोत्साहन गर्न, स्वदेशी उत्पादनहरूको बजार विस्तार गर्न, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउन र उद्यमशीलता र लगानीको सम्भावनाहरू उजागर गर्न एक्स्पो आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
‘मेक इन नेपाल एक्स्पो’ले नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।
त्यसैगरी, नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ ले स्वदेशमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गरी यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरू रहने छन् । तीमध्ये ४० भन्दा बढी स्वदेशमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टल रहने छन् ।
एक्स्पो २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।