काठमाडाैं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको नोक्सानी असोजको तुलनामा कात्तिकमा बढेको छ । असोज मसान्तमा फण्ड रू. ११ करोड ८१ लाख नोक्सानीमा रहेकोमा कात्तिक मसान्तमा बढेर रू. १३ करोडभन्दा बढी पुगेको छ ।
कात्तिकमा फण्डको खर्चमा वृद्धि भएसँगै नोक्सानी बढेको हो । असोज मसान्तमा फण्डको जम्मा खर्च रू. ७० लाख ४५ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ९२ लाख ६९ हजार पुगेको छ । त्यस्तै फण्डको जम्मा आम्दानी रू. १२ करोड १४ लाख ऋणात्मक छ । यस कारण पनि फण्डको नोक्सानी बढेको हो ।
फण्डको न्याभ पनि असोजको तुलनामा कात्तिकमा घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ १६ पैसा कायम भएको छ । कात्तिक मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब १ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी असोज मसान्तसम्ममा रू. १ अर्ब ४ करोड थियो ।