काठमाडौं । आयातकर्ताले भन्सार जाँचपास नगराउँदा ठूलो संख्यामा दाल, गेडागुडी र अन्य खाद्यान्नका कन्टेनर भन्सार बिन्दुमै रोकिएका छन् ।
सरकारले आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटसँगै ल्याएको आर्थिक विधेयकमार्फत विदेशबाट व्यापारिक प्रयोजनका लागि खाद्यान्न आयात गर्दा वस्तुअनुसार १ दशमलव ५ देखि १० प्रतिशतसम्म भन्सारमै अग्रिम आयकर लिने व्यवस्था गरेपछि व्यवसायीले त्यसको विरोधस्वरूप जाँचपास नगराएका हुन् । सरकारले जेठ १५ देखि लागू हुने गरी धान आयातमा २ प्रतिशत र दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर लगाएको छ । यसअघि यस्तो कर वस्तुअनुसार बढीमा ५ प्रतिशतसम्म थियो ।
नेपाल चामल, तेल, दाल संघका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले ३५ ओटा खाद्यान्न उद्योगका करीब ४०० कन्टेनर भन्सारमै रोकिएको बताए । ‘सरकारले लगाएको अग्रिम आयकरका कारण खाद्यान्नको आयात नै महँगो हुँदा व्यवसायीले दाल र गेडागुडी जाँचपास नगराई भन्सारमै रोकेर राखेका हुन्,’ उनले भने ।
दैनिक उपभोग्य वस्तुमा चर्को अग्रिम आयकर लगाएको भन्दै संघले सरकारी निर्णयको विरोध गर्दै आएको छ । संघले दिएको जानकारीअनुसार शिवशक्ति एग्रो, नेपाल एग्रो, त्रिवेणी दाल मिल, महावीर एग्रो प्रोसेसिङ, नमस्ते एग्रोलगायत ३५ ओटा उद्योगको दाल र गेडागुडी बोकेर आएका कन्टेनर विभिन्न भन्सारमा रोकिएका छन् ।
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा मात्रै दाल र गेडागुडी बोकेर आएका करीब १३० कन्टेनर रोकिएको बन्दरगाह भन्सारका सूचना अधिकारी सुशील शर्माले जानकारी दिए ।
‘त्रिवेणी दाल उद्योग, शिवशक्ति एग्रो, नेपाल एग्रोलगायत आधा दर्जन आयातकर्ताले जाँचपास गराएका छैनन्,’ उनले भने, ‘सामानहरू क्यानडा, अमेरिका, अस्ट्रेलियालगायत देशबाट आएका हुन् ।’
अहिले बढाइएको अग्रिम आयकर पहिलाजस्तै आयातकर्तालाई फिर्ता नहुने आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्द गुप्ताले यसअघि आर्थिक अभियानलाई बताएका थिए । ‘नयाँ व्यवस्थाअनुसार अग्रिम आयकर पछि व्यवसायीको आयकर दायित्वमा मिलान हुन्छ । मिलान हुन बाँकी रकम खर्च देखाउन मिल्छ ।’ उनका अनुसार कर मिलान र खर्च दाबी कारोबार गरेकै वर्ष गर्नुपर्ने व्यवस्था नयाँ आर्थिक ऐनमा गरिएको छ ।
यसअघि मिलान गर्न नसक्दा अर्को आवका लागि कर फिर्ता दाबी सार्ने व्यवस्था थियो । अग्रिम आयकर फिर्ता नहुने व्यवस्थाले आयातित खाद्यान्नको भाउ थप बढाउन सक्ने सरोकारवाला बताउँछन् ।
‘नयाँ कानूनी व्यवस्थाअनुसार अहिले १ करोड रुपैयाँको दाल/गेडागुडी आयात गर्यौं भने अग्रिम आयकरबापत १० लाख रुपैयाँ बुझाउनुपर्छ,’ गुप्ताले भने, ‘यसरी राखिएको रकम सरकारले व्यवसायीलाई फिर्ता पनि गर्दैन अर्को वर्ष फेरि बुझाउनुपर्छ । यसले व्यवसायी र सर्वसाधारण उपभोक्तालाई ठूलो मर्का पर्छ ।’
सरकारले स्वेदशी उत्पादनको संरक्षण गर्न अग्रिम आयकरको दर बढाएको बताएको छ । अग्रिम आयकर लगाइएका वस्तु स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुने भएकाले अग्रिम आयकर बढाइएको अर्थमन्त्री वर्षमान पुनले संसद्लगायत विभिन्न मञ्चहरूमा बताउँदै आएका छन् । यसबाट स्वदेशमै उत्पादन बढाउने प्रोत्साहन मिल्ने उनको भनाइ छ ।
खाद्यान्न उद्योग चलाउँदै आएका व्यवसायी भने स्वदेशी उत्पादनले मात्रै उद्योग पूर्ण क्षमता चलाउन नसकिने बताउँछन् । नयाँ आर्थिक विधेयकअनुसार भन्सारमा १० प्रतिशत अग्रिम कर बुझाउनुपर्नेमा अधिकांश दैनिक उपभोग्य वस्तु छन् ।
सरकारले आलु, प्याज र दाल तथा गेडागुडीमा समेत १० प्रतिशत यस्तो कर असुल्न थालेको छ । साथै धान, मैदा, आटा, पिठोको आयातमा पनि २ दशमलव ५ प्रतिशत अग्रिम कर लगाएको छ । तरकारी, आलु, प्याज, माछालगायत उच्च दरको अग्रिम करले यस्ता वस्तुको मूल्य आकाशिने र आम उपभोक्ता मारमा पर्ने दाबी व्यवसायीको छ ।
संघका सदस्य विभोर अग्रवालले सरकारी नीतिले बजारमा खाद्यान्न महँगिएको बताए । उनका अनुसार अहिले चामल प्रतिबोरा १०० रुपैयाँ र दाल तथा गेडागुडी प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म महँगो भएको छ ।
नेपालमा धान र चामल भारतबाट आयात हुन्छ । दाल तथा गेडागुडी क्यानडा, अमेरिका, अस्ट्रेलियालगायत तेस्रो मुलुकबाट आयात हुने गर्छ ।