हेर्नुस् त चारैतिर कति शान्ति र सन्तोष छ । लाग्छ कृष्णले आँखा चिम्लेर बाँसुरी बजाउँदैछन् र जीवजन्तुहरू मन्त्रमुग्ध भएर योग–ध्यानमा बसेका छन् । साधारण मानिसहरू रुने कुरा सुन्दा पनि हाँसिरहेका छन् ।
मानिशहरू पुराना र नयाँ करहरू खुशी–खुशी तिरिरहेका छन् । बैंकहरूले पनि बोलाई बोलाई साइकल चढ्ने माइकलहरूलाई पनि कार चढ्न पैसा सापट दिइरहेका छन् । पेट्रोल पानीभन्दा सस्तो भएको छ र सम्पत्तिका मूल्य आकाश चुमिरहेका छन् । न्यूयोर्कको भन्दा न्यूरोडको जग्गा महँगो छ, दिल्लीमा भन्दा डिल्लीबजारमा राम्रा घर बनेका छन् । बस्तीसस्ती केही नभएका ठाउँमा समेत १७ तले टावर बनेका छन् । उत्पादन यति धेरै भएको छ कि किसानहरूले दूध र तरकारी सडकमा फालिरहेका छन् ।
र, यस्तो आनन्दको सागरमा पनि केही बेकामेहरू, विशेषगरी शहरिया तथाकथित पढेलेखेकाहरू सरकार र पुराना दलहरूको विरोधमा हात धोएर लागेका छन् बा ! उनीहरू भन्दैछन्, ‘देशमा आर्थिक मन्दी छ, जताततै दुखैदुख छ, निराशै निराशा छ । पुराना दलहरूको जनाधार घट्दैछ । देश डुब्दैछ, आदि आदि ।’ तर लोकतन्त्रमा दल र जनाधारको के मतलब हुन्छ र ? जसलाई शासन गर्न आउँछ, उसले छल, बल, धन सबै चलाइहाल्छ नि ।
जनतालाई खुशी राख्न सरकारका योजनाहरू पनि त टन्नै छन् नि । हेर्नुस् त विकासका लड्डु कत्ति बाँडिने गरेका छन्, त्यो पनि नाचगानसहित । अनि, यो खुशीमा कोही पुत्ला जलाउँछन्, कोही सडकमा टायर बाल्छन्, अनि कोही सामाजिक सञ्जालमा उफ्रिन्छन् । सरकारका यीे ‘खुशी योजना’हरूले दु:ख र पीडाहरूलाई पनि मनोरञ्जनमा बदलिदिएको छ ।
खासमा देशमा खुशीको आपूर्तिको समस्या छैन । तर, अझै पनि केही मानिशहरू खुशी छैनन् रे । आखिर, खुशीको यस्तो ‘ग्राहकमैत्री’ माहौलमा पनि के को गुनासो ? कतै मिडियाहरूले अनावश्यक दु:खका कथा बनाएर जनतालाई भ्रममा त पारेका होइनन् ? के विकास नभएकाले खुशी घटेको हो कि खुशी नभएकाले विकास रोकिएको हो ? कहिलेकाहीँ यस्तो लाग्छ कि कोही कोही नेपालीले कहिल्यै पनि खुशी नहुने कसम खाएका छन् । त्यसैले उनीहरू खुशी हुनै सक्तैनन् ।
मानिशहरू साँच्चै बेखुश छन् भने हुनुका कारण पत्ता लगाउनुपर्छ । बरु उनीहरूलाई खुशी बनाउन पर्यो भने कानूनै बदल्नुपर्छ, पर्यो भने संविधान नै फेर्नुपर्छ । र, अहिले सरकारमा भएका दलहरू संविधान संशोधन गर्ने सोचमा अघि बढेका छन् रे । होइन त खुशीको कुरा ?
कि देशमा पहिले खुशीको हावा चल्थ्यो र अहिले दु:ख र निराशाको हावा मात्र चल्न थालेको हो ? । त्यसो हो भने त खुशी हावाजस्तै रहेछ । कहिलेकाहीँ आउँछ, अनि फेरि उडेर जान्छ । कि खुशीको हावा केवल माथि माथि बहने र जति जति तल तल जान्छ, त्यो हावा दूषित र दु:खित हुँदै जाने रहेछ क्यारे । तल हेर्नेहरूलाई त बेरोजगारी, ऋण र अभाव मात्र देखिन्छ जस्तो छ ।
त्यसैले तपाईं तल चैं नहेर्नुहोस् है ? किनकि तल त अभाव, रिण, भोकमरी र आत्महत्याजस्ता कुराहरू मात्रै चलिरहेका छन् जस्तो छ । त्यो हेर्दा शायद तपाईंले सहन सक्नुहुन्न । त्यसैले तपाईं माथि माथि मात्र हेर्नुस् है । माथिको हावा मात्र हेर्नुस्, आफूभन्दा लगत्तै माथिको हावाले खुशी बनाएन भने अझ माथि हेर्नुस्, त्यसले पनि भएन भने अझ माथि हेर्नुस् । खुशी अवश्य पाइन्छ । तब तपाईंको मन मस्त हुनेछ, खुशी भइरहनेछ ।
वास्तवमा हावा नै जीवन रहेछ । त्यसैले त हावालाई ‘प्राणवायु’ भनिएको । हाम्रा सरकारमा बस्नेहरू, ठूला नेता, ठूला कर्मचारी हाकिमहरू पनि यही सिद्धान्तमा विश्वास राख्छन् । उनीहरूले खुशीको हावा मात्र महत्त्वपूर्ण ठान्छन् । त्यसैले प्रजाले पनि त्यही नै मान्नुपर्छ भन्ने छ । आफ्नो भित्री तलमा नियालेर हेर्नु आवश्यक छैन । कबीरले भनेका छन्, ‘बुरा जो देखन मैं चला, बुरा न मिलिया कोय, जो मन देखा आपना, मुझसे बुरा न कोय ।’
अर्थात्, सबै खराबी आफ्नै भित्र छ । बाहिर त खुशीको हावा छ । त्यससँगै अगाडि बढ्नुस् । खुशीविना जीवन मृत्युजस्तै हो । मानिशहरूले भजन गाएर भनेका छन्, ‘आफ्नो लागि बाँचेर त के बँचाइ भो र, संसारका लागि बाँच ।’ यसरी अरूका लागि खुशी हुनु नै सच्चा खुशी हो । अझ पहिले राजा (अहिलेका हकमा नेता)हरूका लागि खुशी हुनु नै साँचो देशभक्ति हो । जो खुशी हुन सक्दैन, उसको जीवनको कुनै अर्थ छैन । खुशी हुन के समस्या छ र ?
त्यसैले कर तिर्नुस् खुशी भएर । त्यस करले तपाईंलाई के लाभ भनेर नचाहिँदो प्रश्न गर्दै टेन्सनमा नपर्नुहोस् । सरकारले त्यसलाई भ्युटावरहरू बनाउन लिएको ऋण तिर्न लगाएकै छ त । ती भ्युटावरहरू तपाईंलाई नै माथि पुर्याएर अझ माथि हेर्न सक्ने बनाउन नै ठडिएका हुन् । यस प्रक्रियामा सरकारमा हुनेहरूले केही करको रकमबाट खाजापानी गरे भने गरे त । गर्नु पनि पर्छ नि ।
होइन ? खाजापानी नखाई त को बाँच्छ र ? फेरि हामीले नै उनीहरूलाई त्यहाँ त्यही अधिकार दिएर पठाएका हौं नि । यसरी चटक्क बिर्सन मिल्छ र ?
निचोड के भने, आफ्नो खुशी भनेको अरूलाई खुशी बनाउन सक्नुमै रहेछ । तर पहिले आफै खुशी हुनुपर्ने रहेछ । त्यसैले पहिले तपाईं खुशी हुन सिक्नुस् । तपाईं खुशी भए देश पनि खुशी हुन्छ । अनि खुशीको यो हावा कहिल्यै रोकिँदैन । त्यसैले, जे जसरी भए पनि सबैले खुशीको हावामा रमाउन सिकौं र देशलाई समृद्ध बनाऊँ । उहिले ‘रैती सुखी भया दरबार सुखी रहने’ चलन थियो । अहिले ‘दरबार सुखी भया रैती सुखी हुने’ चलन छ । त्यसैले सधैं ‘खुशी खुशी’ भैरहनुस् है !