काठमाडौं । केही चिनियाँ कम्पनीले निर्माणका लागि प्रस्ताव गरेको ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना अब सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाउन नेपाली कम्पनी र व्यक्तिहरूबाट लगानी आह्वान भएको छ ।
पूर्वाधार अभावका कारण चिनियाँ बजारमा बिजुली विक्री हुने सुनिश्चितता नभएको भन्दै सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडले आन्तरिक लगानीमै परियोजना बनाउन लागेको हो ।
गतवर्ष पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइनासहित केही चिनियाँ कम्पनीले उक्त आयोजना निर्माण गर्ने इच्छा व्यक्त गर्दै कम्पनीमा प्रस्ताव पेश गरेका थिए । यो परियोजना बनाउन नेपालले सन् २०१६ मै चीनलाई आग्रह गरेको थियो । त्यस बेलाको प्रधानमन्त्रीत्वकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजना बनाउन चीनलाई आग्रह गरेको त्यसबेला जारी संयुक्त वक्तव्यमा उल्लेख छ । तर, पछिल्ला द्विपक्षीय भ्रमणमा भने यो परियोजनाको चर्चा कम हुने गरेको थियो ।
तर, विद्युत् उत्पादन कम्पनी लिमिटेडले आइतवार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा आयोजना निर्माण गर्ने गरी वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीले चिनियाँ बजारमा विद्युत् विक्रीको सम्भावना नदेखिएकाले आन्तरिक लगानीबाटै आयोजना निर्माण गर्न लागेको बताए । ‘चीनसँग अन्तरदेशीय प्रसारण लाइन पनि नभएको अवस्थाले गर्दा चीनले आयोजना बनाए पनि उसले बिजुली किन्ने/नकिन्ने निश्चित छैन । त्यसैले कार्यविधि बनाएर आन्तरिक रूपमै लगानी जुटाउने र आयोजना निर्माण गर्नेतर्फ लागेका छौं । हामो आफ्नै आन्तरिक स्रोतसाधनले भ्याएसम्म आफैले बनाउनुपर्छ भन्ने हो,’ उनले आर्थिक अभियानसँगको कुराकानीमा भने ।
कम्पनीले जारी गरेको सूचनामा ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न भनिएको छ । आयोजना निर्माणका लागि साझेदारीसम्बन्धी कार्यविधि २०८१ अनुसार पहिलो चरणमा नेपाली नागरिक र नेपाली नागरिक प्रवर्द्धक रहेको कम्पनी वा संगठित संस्थासँग प्रस्ताव आह्वान गर्नुपर्छ । सोही अनुसार आइतवार कम्पनीले प्रस्ताव माग गरेको हो । नेपाली नागरिक वा नेपाली नागरिकले खोलेको कम्पनीले दुई पटकसम्म आह्वान गर्दा पनि प्रस्ताव हालेनन् भने विदेशी लगानीकर्ता आह्वान गर्न सकिने व्यवस्था कार्यविधिमा छ ।
विद्युत् उत्पादन कम्पनीले किमाथांका अरुणसँगै १ हजार ९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनासमेत सोही मोडलमा निर्माण गर्न आइतवार आशयपत्र मागेको छ । छोटो समय तोकेर प्रस्ताव आह्वान गरेको विषयलाई केहीले कसैको स्वार्थअनुरूप प्रस्ताव बनाइएको हो कि भन्ने आशंका पनि गरेका छन् ।
यी दुवै परियोजनाको लागत ५ खर्ब रुपैयाँभन्दा बढी छ । त्यसमध्ये अर्धजलाशय प्रकृतिको किमाथांका अरुण परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसैगरी सम्भाव्यता अध्ययनको काम भइरहेको मुगु कर्णालीमा ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
किमाथांका आयोजना संखुवासभाको भोट खोला गाउँपालिका–२ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत् प्राधिकरणको एनइए इन्जिनीयरिङ कम्पनी लिमिटेड हो । यसको विस्तृत अध्ययन पूरा भइसकेको छ ।
प्रतिवेदनअनुसार यो जलविद्युत् आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३ दशमलव ५८ प्रतिशत छ । रिटर्न अन इक्विटी (आरओई) १६ दशमलव ८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ । त्यसैगरी मुगु कर्णाली आयोजनाले ५८ हजार ८८३ दशमलव १ गिगावाट आवर विद्युत् उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत् आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करीब २५० मीटर उचाइको हुने अनुमान छ । आयोजना कर्णालीका कालीकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।