काठमाडौं । खेतबारीमा प्रयोग हुने विषादी आयात केही वर्षयता बढ्दो क्रममा छ । सरोकारवालाका अनुसार जलवायु परिवर्तनका कारण खेतबारीमा नयाँनयाँ रोग र कीराको प्रवेश भएकाले त्यसको नियन्त्रणका लागि विषादी आयात बढेको हो । हालै सार्वजनिक महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार पछिल्लो ५ वर्षमा विषादी आयातको मात्रा ह्वात्तै बढेको देखिएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँको ८०९ मेट्रिक टन विषादी आयात भएकोमा आव २०७९/८० मा यो बढेर १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको १ हजार १८३ मेट्रिक टन पुगेको छ ।
‘केही वर्ष पहिलेसम्म विषादीको प्रयोग नगरी उत्पादन भइरहेका बालीनालीमा अहिले विषादी हाल्नैपर्ने अवस्था सृजना भएको छ,’ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकृत मनोज पोखरेलले बताए । ‘यसको मुख्य कारण जलवायु परिवर्तनका कारण नयाँनयाँ रोग र कीरा बालीमा देखिनु हो ।’
उनका अनुसार ८/१० वर्ष पहिलेसम्म मकैमा खासै रोग कीराको आक्रमण हुँदैन थियो । विषादी प्रयोग नगरे पनि राम्रै उत्पादन हुने मकैमा अहिले फौजी कीराको आक्रमणका कारण विषादी हाल्नैपर्ने अवस्था छ । ‘अहिले यस्ता धेरै बालीनाली छन् जसमा विषादी प्रयोग नगर्दा रोग कीराले सखापै पारिदिन सक्छ । व्यावसायिक किसानको संख्यामा वृद्धि हुँदा पनि विषादीको प्रयोग बढ्दै गएको छ,’ उनले भने ।
विषादीको बढ्दो प्रयोगले मानव, जीवजन्तु र वातावरणमा प्रतिकूल प्रभाव पर्ने भएकाले यसको आयात, उपयोग र भण्डारणको उचित व्यवस्थापन हुनुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार मन्त्रालयअन्तर्गतका कार्यालयले गरिरहेका प्लान्ट क्लिनिक कार्यक्रम, इन्टेग्रेटेड पेस्ट म्यानेजमेन्ट (आईपीएम) प्रविधि सञ्चालन कार्यक्रम, विभिन्न बालीमा विषादीको अधिकतम अवशेष सीमा तोक्ने कार्य र विभिन्न नाकामा विषादीको द्रुत विश्लेषण कार्य बढाउनुपर्ने देखिन्छ । विषादी व्यवसायी संघ नेपालका अध्यक्ष छोटेलालप्रसाद ठाकुरले पनि जलवायुमा भएको परिवर्तनका कारण रोग कीराको प्रजातिमा वृद्धि हुँदा विषादी प्रयोग बढेको बताए ।
साथै बेमौसमी तरकारी र फलफूल उत्पादन गर्ने प्रचलन बढ्दै जाँदा त्यस्ता बालीमा रोग कीराले छिटो आक्रमण गर्ने हुँदा कीराबाट जोगाउन विषादीको प्रयोग व्यापक बढिरहेको उनको भनाइ छ । प्रतिवेदनमा उल्लिखित विवरणअनुसार आव २०७५/७६ को तुलनामा २०७९/८० मा विषादी पञ्जीकरण संख्यामा ८६ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ३ मा जीवनाशक विषादीको पञ्जीकरण गर्नुपर्ने र दफा १८ मा पञ्जीकरण भएका विषादी मात्र आयात गरी प्रयोग गर्न पाउने व्यवस्था छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट पञ्जीकरण गरिएका कीटनाशक, ढुसीनाशक, ब्याक्टेरियानाशक, सुलसुलेनाशक, शंखेकीरानाशक, मुसानाशक, कीरानाशक र जैविक समूहका विषादीमा सामान्य नामका आधारमा १६८ र व्यापारिक नामका आधारमा ५ हजार ८०७ विषादी पञ्जीकरण भएका छन् ।
केन्द्रका अधिकृत पोखरेलका अनुसार विषादीले हामीलाई असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि आयात र प्रयोग बढ्नु डरलाग्दो विषय हो । तैपनि बालीनाली नष्ट हुन नदिन यसको प्रयोग उत्तिकै जरुरी देखिएको उनी बताउँछन् । ‘यसको शून्य प्रयोगमा हामी जान सक्दैनौं तर विकल्प खोज्न सकिन्छ । जैविक विषादी प्रयोगमा वृद्धि, विषादीको नियमन र समुचित प्रयोग साथै दुरुपयोगलाई न्यूनीकरण गर्दै केही हदसम्म विषादीको प्रयोग घटाउन सकिन्छ,’ उनले भने ।