काठमाडौं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङलाई पदमुक्त गरिएको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखिनै लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो । सोही बैठकले माघ २३ गतेदेखिनै लागू हुने गरी राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको जिम्मेवारी दिईएको छ । भट्टराई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत हुन ।
पछिल्लो समय कम्पनीको वित्तीय अवस्था कमजोर देखिन्छ । कम्पनी वित्तीय अवस्था कमजोर भएसँगै कम्पनीका सञ्चालक प्रमुख कार्यकारीअधिकृतप्रति असन्तुष्ट रहेको देखियो । जसको कारण सञ्चालक समितिले चार वर्षे कार्यकालका लागि नियुक्त भएका गुरुङलाई कार्यकाल सकिनु अघिनै पदमुक्त गरिएको हो । कम्पनीको २०७९ साल जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई २०७९ साल असार १० गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । गुरुङको कार्यकाल २०८३ साल असार १० गतेसम्म कायम थियो ।
राष्ट्रियस्तरको वित्त कम्पनीको रुपमा रहेको कम्पनी संकटउन्मुख अवस्थामा पुगेको छ । खराब कर्जा लगातार बृद्धि हुनुका साथै पूँजीकोष अनुपात पनि तोकिएको मापदण्डभन्दा तल झरेपछि नेपाल राष्ट्र बैंकले समेत कम्पनीलाई सुधारात्मक काराबाहीको तयारी गरेको बुझिएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थालाई हेर्दा कम्पनीको निष्क्रिय कर्जा १० दशमलव ५० प्रतिशत छ । गत वर्ष यस अवधिसम्म कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ५८ प्रतिशत थियो । खराब कर्जा बढेसँगै कम्पनीले इम्पेरमेन्ट चार्ज शिर्षकमा १ करोड रुपैयाँभन्दा बढी व्यवस्था गर्नुपरेको छ । जसका कारण कम्पनी दोस्रो त्रैमाससम्म ६३ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष दोस्रो त्रैमाससम्म २ करोड ९० लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको यो कम्पनी यस वर्ष भने करिब ६४ करोड रुपैयाँ खुद नोक्सानीमा गएको हो । दोस्रो त्रैमाससम्म कम्पनी ५८ रुपैयाँ ९३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ५३ रुपैयाँ ९७ पैसा रहेको छ ।