काठमाडौं । वित्तीय अवस्था कमजोर रहेको वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही थालेपछि त्यसको असर वित्त कम्पनीहरूको शेयरमूल्यमा परेको छ । राष्ट्र बैंकले गतसाता कर्णाली विकास बंैकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो हातमा लिएको थियो । त्यसैगरी पोखरा फाइनान्सलाई पनि शीघ्र सुधारात्मक कारबाही गरिन लागेको राष्ट्र बैंक स्रोतले बताएको छ । यसको असर वित्तसमूहका सबै कम्पनीको शेयरमूल्यमा परेको हो । मंगलवार सबै वित्त कम्पनीको शेयरमूल्य घट्यो र यो समूहको सूचक पनि सर्वाधिक ५ दशमलव १९ प्रतिशतले घटेको छ ।
पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारबाहीको समाचार बाहिरिएसँगै यसको शेयरमूल्य १० प्रतिशत घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५७ रुपैयाँ ७० पैसाले घटेर अन्तिम मूल्य ५१९ रुपैयाँ ३० पैसा कायम भएको हो । मंगलवार कम्पनीको २ करोड २० लाख ६१ हजार रुपैयाँ बराबरको ४२ हजार ४५४ कित्ता शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको निष्क्रिय कर्जा १४ दशमलव ४४ प्रतिशत र पूँजीकोष अनुपात १० दशमलव ९९ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा बढी र पूँजीकोष अनुपात १० प्रतिशतभन्दा कम भएको अवस्थामा शीघ्र सुधारात्मक कारबाही गर्न सक्छ ।
- पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारबाहीको समाचार बाहिरिएसँगै यसको शेयरमूल्य १० प्रतिशत घटेको छ
- जानकी फाइनान्सको शेयरमूल्य पनि १० प्रतिशत घटेको छ
- पोखरा फाइनान्सको निष्क्रिय कर्जा १४ दशमलव ४४ प्रतिशत
- जानकी फाइनान्सको निष्क्रिय कर्जा ३४ दशमलव ६४ प्रतिशत
- वित्त कम्पनीहरूको औसत निष्क्रिय कर्जा १० दशमलव ८४ प्रतिशत
पोखरा फाइनान्समात्र होइन, वित्त कम्पनीहरूको औसत निष्क्रिय कर्जा पनि वाणिज्य बंैक र विकास बैंकहरूको तुलनामा उच्च रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
कात्तिक मसान्तसम्म वित्त कम्पनीहरूको निष्क्रिय कर्जा १० दशमलव ८४ प्रतिशत छ जबकि वाणिज्य बैंकहरूको ४ दशमलव २८ प्रतिशत र विकास बैंकहरूको ४ दशमलव ३७ प्रतिशत छ ।
मंगलवार जानकी फाइनान्सको शेयरमूल्य पनि १० प्रतिशत घटेको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म करीब ७ करोड खुद नाफामा रहेको जानकी फाइनान्सको शेयरमूल्यमा मंगलवार नकारात्मक सर्किट लागेको हो । कम्पनी खुद नाफामै रहेको भए पनि निष्क्रिय कर्जा बढेको छ । गत आवको पहिलो त्रैमाससम्म १७ दशमलव ६० प्रतिशत रहेको जानकी फाइनान्सको निष्क्रिय कर्जा चालू वर्षको सोही अवधिसम्म बढेर ३४ दशमलव ६४ प्रतिशत कायम भएको छ । जानकी फाइनान्सको पूँजीकोष अनुपात ३ दशमलव ८४ प्रतिशत छ ।
मंगलवार गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयरमूल्य पनि ९ दशमलव ३४ प्रतिशत घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५१ रुपैयाँले घटेर अन्तिम मूल्य ४९५ रुपैयाँ कायम भएको हो । वित्त कम्पनीमध्ये नाफाका हिसाबमा मञ्जुश्री फाइनान्स सबैभन्दा अगाडि छ । चालू आवको पहिलो त्रैमाससम्म मञ्जुश्री फाइनान्स ९ करोड ४२ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको देखिन्छ । यस कम्पनीको शेयरमूल्य मंगलवार ३ दशमलव २० प्रतिशत घटेको छ ।
मंगलवार मञ्जुश्री फाइनान्सको शेयरमूल्य प्रतिकित्ता २० रुपैयाँ ८० पैसाले घटेर अन्तिम मूल्य ६२९ रुपैयाँ २० पैसा कायम भएको हो । वित्तसमूहका कम्पनीको शेयरमूल्यमा नकारात्मक प्रभाव देखिनुको पछाडि कमजोर वित्तीय अवस्था रहेका कम्पनीमाथि नियामकले कारबाही गर्न खोजेको संकेत आउनु रहेको अनुभवी लगानीकर्ता छोटेलाल रौनियारले बताए । ‘पछिल्लो समय समूह नै मिलेर कमजोर वित्तीय अवस्था भएका कम्पनीको शेयरमूल्य बढाइयो,’ उनले भने, ‘अब त्यस्ता कम्पनीमाथि कारबाही हुने संकेत आएपछि शेयर मूल्य घटेको हो ।’
उनले एक कम्पनीको कारोबारलाई हेरेर इन्साइडर ट्रेडिङको कारबाही गर्नुभन्दा ४ घण्टाको कारोबारलाई विशेष निगरानी गरी नियामक निकायले कारबाही अघि बढाउनुपर्ने बताए । ‘कुनै एक समूहले कम्पनीको मूल्य बढाउने जिम्मा लिएर कारोबार भइरहेको प्रत्यक्ष देखिँदा पनि नियामकले किन ध्यान दिएको छैन ?’ उनले प्रश्न गरे ।