विराटनगर । कोशी प्रदेशमा बाढी र पहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको प्रदेश सरकारले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले आइतवार पत्रकार सम्मेलनमा यस सम्बन्धमा जानकारी दिएका हुन् ।
असोज ९ गते रातिदेखि आएको अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले उक्त रकम बराबरको क्षति पुगेको उनले बताए । उनले आंशिक क्षति पुगेका पूर्वाधारको मर्मतका लागि १ अर्ब २ करोड ५० लाख रुपैयाँ र पूर्ण क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि ३ अर्ब ६१ करोड रुपैयाँको आवश्यकता पर्ने जानकारी दिए ।
मन्त्री राईले प्रदेशभरि ६० ओटा सडक, १५ ओटा सडक पुल र १७ ओटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको पुष्टि गरे । उनले उदयपुर र खोटाङ जोड्ने पक्की पुल बगाएपछि वैकल्पिक व्यवस्था गरिएको र इलाममा भासिएर मर्मतमा समस्या भएको सडकको विकल्पबाट आवत–जावतको व्यवस्था मिलाउने काम भइरहेको जानकारी दिए ।
चाडपर्वको समयमा बासिन्दालाई आवत–जावतमा कुनै समस्या नहुने गरी व्यवस्थापन गर्ने प्रक्रिया चलिरहेको मन्त्री राईले स्पष्ट गरे । यस परिस्थितिमा सरकारको सक्रियता र जनताको सहयोगले प्रभावित क्षेत्रलाई चाँडै पुनर्निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।