विराटनगर । देशमा कायम आर्थिक शिथिलताले मागमा कमी आउँदा कोशी प्रदेशमा सञ्चालित ११ सिमेन्ट र २ स्टील उद्योग बन्द भएको उद्योगीहरूले बताएका छन् । कोशी प्रदेशमा झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १ र उदयपुरमा सरकारी स्वामित्वको १ गरी १४ सिमेन्ट उद्योग दर्ता छन् । पछिल्लो समय झापाका मनसा र हिमालय तथा मोरङको सप्तकोशी सिमेन्टबाहेक अन्य उद्योग बन्द छन् ।
त्यसैगरी, सात स्टील उद्योगमध्ये पाँचओटामात्र सञ्चालनमा छन् । स्थानीय बजार खस्केको र आर्थिक शिथिलताका कारण बूढीगंगा गाउँपालिकामा सञ्चालित नेपाल अल्ट्राटेक सिमेन्ट उद्योगको उत्पादन १ वर्षदेखि बन्द रहेको सञ्चालक मनीष मारूले बताए । यो उद्योगको दैनिक उत्पादन क्षमता हजार मेट्रिक टन थियो । यसमा १०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । तर, बजार अभाव र भारत निकासीका लागि सरकारी पहल नहुँदा २५० करोड रुपैयाँ लगानीमा सञ्चालित उद्योग १ वर्षदेखि बन्द गर्नुपरेको उनले खुलाए ।
आफैले क्लिंकर उत्पादन गर्ने उद्योगले भारत निकासी र स्वदेशी बजारमा सस्तोमा सिमेन्ट विक्री गर्ने गरे पनि क्लिंकर किनेर ल्याउने उद्योगको उत्पादन लागत बढी हुने र पहिलेको तुलनामा बजारको माग पनि १० प्रतिशतमा झरेपछि कोशी प्रदेशमा सञ्चालित १४ सिमेन्ट उद्योगमध्ये ११ ओटा बन्द हुन पुगेका हुन् ।
भारत निकासीका लागि सरकारले भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)को प्रमाणपत्रको झन्झटबाट मुक्त गर्ने र निकासी अनुदान दिने हो भने भारतीय बजारमा समेत नेपाली सिमेन्ट पुर्याउन सकिने उनी बताउँछन् । त्यसमा सरकारको नीति स्पष्ट हुन सकेमा मात्र बन्द भएको उद्योग सञ्चालनमा आउने मारूले बताए । मारूका अनुसार कोशी प्रदेशका सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता ११ हजार मेट्रिक टन छ ।
तर, अहिले दैनिक उत्पादन हजार मेट्रिक टनमा सीमित भएको उनको भनाइ छ । सप्तकोशी सिमेन्ट उद्योगका सञ्चालक आशिष गोयल अहिले आफूले २० प्रतिशत क्षमतामा उद्योग सञ्चालन गरिरहेको बताउँछन् । दैनिक ५०० सय टन उत्पादन गर्ने क्षमता भए पनि अहिले १०० टनमात्र उत्पादन भइरहेको उनले जानकारी दिए । उनका अनुसार आन्तरिक बजारको मागमा कमी, आर्थिक मन्दी र निर्माण क्षेत्रमा लगानी गर्ने इच्छा मानिसमा नभएको कारण सिमेन्टको माग घटेको हो ।
कोशी प्रदेशमा रहेका स्टील उद्योगको समस्या सिमेन्ट उद्योगको भन्दा दयनीय छ । उद्योगीका अनुसार बजारमा माग नभएपछि ७ ओटा स्टील उद्योगमध्ये दुई ओटाले उत्पादन बन्द गरेका छन् । आरती स्ट्रिप्सको फलामे डन्डी उत्पादन गर्ने प्लान्ट र बिर्तामोडको पाथीभरा स्टील बन्द भएका छन् । सञ्चालनमा रहेका उद्योगहरूले समेत क्षमताको २० प्रतिशत उत्पादन गरिरहेको प्रिमियर स्टीलका सञ्चालक सौरभ शारडाले बताए ।
शारडाका अनुसार अहिले पाँचओटा उद्योगहरू प्रिमियर, हुलास, पशुपति, कमला र स्वस्तिक आइरन सञ्चालनमा छन् । सातओटै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक २ हजार ६०० टन उत्पादन दिँदै आएकोमा अहिले ५ उद्योग मात्रले दैनिक हजार टन उत्पादन दिइरहेका छन् । उनका अनुसार भारत सरकारको गुणस्तर प्रमाणपत्र बीआईएस लिँदा पनि कच्चा पदार्थ उतैबाट ल्याएर यहाँ प्रशोधन गरी भारतीय बजारमै निकासी गर्दा त्यहाँको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको कारण पूर्वका उद्योगहरूले आफ्नो उत्पादन भारत निकासी गर्न नसकेका हुन् ।
सरकारले अनुदान दिने हो भने भारत निकासी गर्न कुनै समस्या नरहेको बताउने शारडाले स्टीलको बजार हरेक वर्ष २० प्रतिशत बढ्नुपर्नेमा झन् घटिरहेकाले उद्योगीहरूको लगानी नै जोखिममा पर्ने अवस्था रहेको दाबी गरे । पहिले अन्तरराष्ट्रिय लगानीका प्रोजेक्ट हुँदा भुटानमा बिजुलीको तार, पोल र ट्रान्सफर्मर नेपालबाट जाने गरे पनि आन्तरिक लगानीका परियोजनामा भने भारतबाटै सामान लाँदा उनीहरूलाई भन्सार महशुल नलाग्ने भएकाले नेपालबाट भुटान विद्युतीय सामग्री जान नसकेको उनले खुलाए ।