काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ प्राप्त गर्ने शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीका अनुसार गत बिहीबारनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो । कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो । हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत भैसकेको छैन् । नेप्सेमा समेत सूचीकरणका लागि अन्तिम तयारी भैसकेको भनाई कम्पनीको छ ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि , ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरी १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत आम सर्वसाधारणमा जारी गरेको हो ।
कम्पनीका संस्थापकतर्फबाट चुक्ताभएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराउनेछ । कुल कित्ता शेयरमध्ये संस्थापक, कर्मचारी र म्युचुअल फण्ड तर्फको शेयर भने लकइनमा रहनेछ । संस्थापक र कर्मचारीतर्फको शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म र म्युचुअल फण्डको स्वामित्वको शेयर ६ महिनासम्म लकइनमा रहनेछ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गरेपछि नेप्सेले पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ८६ पैसादेखि अधिकतम प्रतिकित्ता ३०२ रुपैयाँ ५८ पैसासम्मको मुल्यरेञ्ज प्रदान गर्नेछ ।