काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको नेप्सेमा पहिलो कारोबार दिन २१० कित्ता शेयर खरीदविक्री भएको छ ।
नेप्सेका अनुसार उक्त कित्ता शेयर ६८ हजार ३६४ रुपैयाँमा कारोबार भएको हो । कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा भएको छ । पहिलो कारोबार दिन कम्पनीको शेयर खरीद माग उच्च हुँदा मूल्य सर्किट लेभलमा बढेको छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य ३३२ रुपैयाँ ७० पैसा कायम भएको हो ।
कम्पनीले कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारणतर्फको २२ लाख ५० हजार कित्ता शेयर रहेको छ ।
संस्थापक शेयरसँगै सर्वसाधारणतर्फको शेयरमध्ये कर्मचारी र सामूहिक लगानीकोषतर्फको शेयर भने 'लकइन'मा रहेको छ । संस्थापक र कर्मचारीतर्फको शेयर तीन वर्षका लागि र सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म 'लकइन'मा रहनेछ । सर्वसाधारणमा कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो ।